काठमाण्डौ । मिड सोलु हाईड्रोपावर लिमिटेडको बैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्काशन गरिएको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ ।
एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिड सोलु हाईड्रोपावर लिमिटेडको जारी पूँजीको १०% अर्थात रु.७,४८,४०,००० रकम बराबरको रु.१०० अंकित दरका ७,४८,४०० कित्ता शेयर मध्ये ७४,८४० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि गत साउन १४ गतेदेखि साउन २८ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त साधारण शेयर निष्काशनमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट निम्न बमोजिम आवेदन परेको र प्राप्त आवेदनको प्रशोधन गरी सोको बाँडफाँड भएको क्यापिटलले जानकारी दिएको छ ।
निष्काशनको समयमा सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट जम्मा ३१,५२२ जना आवेदकहरुबाट जम्मा ७,०४,२०० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएकोमा सो मध्ये सम्बन्धित सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट विभिन्न कारणबाट १,८६७ जना आवेदकहरुबाट ५८,६४० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रद्द गरे पश्चात् बाँकी रहेका जम्मा २९,६५५ जना आवेदकहरुबाट ६,४५,५६० कित्ता शेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको थियो ।
क्यापिटलका अनुसार प्राप्त आवेदनहरु रुजु गर्दा ७ जना आवेदकबाट २६० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रितपूर्वक नदेखिएको हुँदा उक्त आवेदनहरुलाई रद्द गरी रितपूर्वक आवेदन प्राप्त जम्मा २९,६४१ जना आवेदकहरुबाट ६,४५,३०० कित्ता शेयर खरिदको लागि प्राप्त आवेकहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ता देखि ३,००० कित्ता सम्म शेयर खरिद आवेदन गर्ने ७,४८४ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ता शेयरको दरले जम्मा ७४,८४० कित्ता शेयर निष्काशन तथा बिक्री प्रबन्धक, निष्काशनकर्ता कम्पनी र प्रोफेशनल कम्प्युटर सिस्टम प्रा.लि. का प्रतिनिधिहरुको उपस्थितिमा बाँडफाँड गरिएको हो ।
बाँडफाँडको नतिजा यस क्यापिटलको वेभसाईट www.nicasiacapital.com वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेभसाईट www.iporesult.cdsc.com.np/meroshare.cdsc.com.np af6 हेर्न सकिने छ ।