मन्त्री किराँतीद्वारा ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ

अर्थबिट २०८०-०५-१४ ०८:५५:०० बजे

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘टुरिस्ट बस नेपाल’ एप्सको शुभारम्भ गर्नुभएको छ । 

पर्यटक बस व्यवसायीहरूको साझा संस्था टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)ले निर्माण गरेको उक्त एप्सको बुधबार शुभारम्भ गर्नुभएको हो । एप्स सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले पर्यटन ऐन संशोधनमा मन्त्रालय लागेको बताउनुभयो । 

मन्त्री किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताउनुभयो । “पर्यटन बोर्डको बजेट नसच्चिएसम्म हतारमा पास गर्न सकिँदैन, बोर्डको बजेट कमिसनको दुनो सोझ्याउनका लागि तत्काल आउन सक्दैन”, उहाँले भन्नुभयो । उहाँले भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको बताउनुभयो । 

मन्त्री किराँतीले पर्यटन क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको भन्दै बोर्डले पर्यटनको प्रवर्द्धन गर्ने रहेको स्पष्ट पार्नुभयो । पर्यटन बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गर्न नपाउने बताउनुभयो । 

उहाँले भूटान, बङ्गलादेश र नेपालीहरूको धेरै श्रमको गन्तव्य भएको खाडी मुलुकहरूमा पनि जोड्ने प्रयास गर्नुपर्ने बताउनुभयो । पर्यटन बोर्डको पैसामा आफन्त घुमाउने र महङ्गा सामानहरू ल्याएर बाँड्ने र बेच्ने सुविधा कसैलाई नभएको उहाँको भनाइ थियो  । 

टुरिष्ट बस एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्ण आचार्यले पर्यटक बसमा ओहोरदोहोर गर्ने स्वदेशी तथा विदेशी यात्रुले सहजै अनलाइनमार्फत टिकट काट्न सकुन् भन्ने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको बताउनुभयो । 

काठमाडौँदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुर जाने पर्यटक बसका यात्रुले मोबाइल एप्समार्फत टिकट काट्न पाउनेछन् । टिकट काट्नका लागि टिवानले खल्ती, आइएमई पे, प्रभु पेसँग सहकार्य गरेको छ । हाल काठमाडौँबाट दैनिक झण्डै एक सय पर्यटक बस देशका विभिन्न पर्यटकीय क्षेत्रमा ओहोरदोहोर गर्दै आएका छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।