नौ महिनामा भित्रिए आठ लाख पर्यटक

अर्थबिट २०८०-०६-१४ ०६:१६:०० बजे

काठमाण्डौ । अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर सात लाख ८२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन् ।

पछिल्लो सेप्टेम्बर महिनामा मात्रै ९१ हजार १२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ९२ हजार छ सय चार पर्यटक नेपाल आएका थिए ।

नेपालमा पर्यटकीय सिजन सुरु भएकाले अबका दिनमा विदेशी पर्यटक आगमन बढ्ने बोर्डको विश्वास छ । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेकाले लक्ष्यमा पुग्न सहज हुने बताउनुभयो । पछिल्लो पर्यटक आँकडा कोभिड–१९ पूर्वको पर्यटक आगमनको ९० दशमलव २८ प्रतिशत हो । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

सेप्टेम्बर महिनामा पनि सबैभन्दा बढी भारतबाट २८ हजार छ सय ४२, चीनबाट आठ हजार एक सय ७४, अमेरिकाबाट सात हजार तीन सय ६४, बङ्गलादेशबाट तीन हजार सात सय १६ पर्यटक नेपाल आएका छन् । यस्तै अष्टे«लियाबाट तीन हजार छ सय ८५, संयुक्त अधिराज्यबाट तीन हजार छ सय ४०, श्रीलङ्काबाट तीन हजार ११, जर्मनीबाट दुई हजार आठ सय ५२, दक्षिण कोरियाबाट दुई हजार १८ र इजरायलबाट एक हजार सात सय ३४ पर्यटक नेपाल भित्रिएका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।