काठमाण्डौ –दिल्लीको भन्दा काठमाण्डौ –धनगढीको हवाई भाडा महङ्गो

अर्थबिट २०८०-०६-२९ ०९:२६:०० बजे

काठमाण्डौ । काठमाण्डौदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पु¥याइएपछि चाडपर्वका समयमा काठमाण्डौबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । 

देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाण्डौ –नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीलेकाठमाण्डौ –धनगढीको हवाई भाडा रु सात हजार नौसयबाट वृद्धि गरी रु सत्र हजारभन्दा बढी पु¥याएको गुनासो यात्रुको छ ।

चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाण्डौदेखि नयाँ दिल्लीको हवाई भाडा रु सत्र हजारभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।”

चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन । 

धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसारनै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताउनुभयो ।

“मन्त्रालयले स्वीकृत गरेको भाडादरअनुसार नै विमान कम्पनीले लिइरहेको देखिएको छ”, उहाँले भन्नुभयो, “चाड पर्वको बेला काठमाण्डौबाट धनगढी फर्किने यात्रुको चाप बढ्दा अधिकतम भाडा र धनगढीबाट काठमाण्डौ जाने यात्रु घट्दा न्यूनतम भाडा लिइरहेको देखिन्छ ।” भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ । 

हाल काठमाण्डौ –धनगढीको भाडादर रु १४ हजार सातसय एकदेखि रु १७ हजार एकसय ८६ लिने गरिएको छ । धनगढीदेखि काठमाण्डौसम्मको भाडा भने निम्नतम रु सात हजार नौ सय छ । गएको साउन महिनादेखि यात्रुको हवाई टकटमा मूल्य अभिवृद्धि कर(भ्याट) समेत जोड्ने गरिएको छ । यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाण्डौमा रु चारसय र धनगढीमा रु पाँच सय तोकिएको छ ।

धनगढी विमानस्थलबाट बुद्धएयर र श्री यएरलायन्सले काठमाण्डौ–धनगढी–काठमाण्डौसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेको छ ।

निजी क्षेत्रको समिट एयरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधबार र सोमबार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा हवाई सेवा दिन थालेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।