पर्यटकीय क्षेत्र बन्दै चितवनको रानीपोखरी

अर्थबिट २०८०-०७-१० ११:२५:०० बजे

चितवन । भरतपुर महानगरपालिका–१९  स्थित रानीपोखरी पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । प्राचीनकालमा निर्माण गरिएको यस पोखरीको संरक्षण र सम्बद्र्धनका लागि सरकारले बजेट विनियोजन समेत गरेको छ । सघन सहरी विकास कार्यालयले रानीपोखरी उद्यान निर्माण र भौतिक संरचना निर्माणका लागि रु चार करोड ५० लाख र पोखरी जाने सडक निर्माणका लागि रु पाँच करोड बिनियोजन गरेको छ । सडक निर्माणको काम सम्पन्न भइसकेको छ भने उद्यान र भौतिक संरचना निर्माण तीव्र रुपमा अघि बढाइएको छ ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउँदै छ ।  महानगरपालिकाभित्रै रहेको रानीपोखरी भ्रमण वर्षका लागि उपयुक्त गन्तव्य बन्ने देखिएको छ । रानीपोखरीमा विभिन्न जनावरका मूर्ति निर्माण, पोखरीकोबिचमा मन्दिर निर्माण, समाजसेवी र विभिन्न व्यक्तिको ढुङ्गामा कुँदिएको सालिक निर्माण लगायतका काम भइरहेका छन् । योसँगै पोखरीको संरक्षणका लागि तारबार लगाउने काम भइरहेको जनाइएको छ । 

 स्थानीय वीरबहादुर नेपालीले भन्नुभयो “निर्माणकार्य सम्पन्न हुननसक्दा यसको सरसफाइ र रेखदेखमा समस्या भए जस्तो देखिए पनि निर्माण सम्पन्न हुँदा यो आकर्षक बन्ने छ ।” यस तालमा डुङ्गा चढ्ने, बालबालिकाका लागि नजिकै रहेको उद्यानको रमणीय वातावरणमा भूल्ने हुँदा पर्यटक आउने गर्दछन् । 

तालमा रहेको जलकुम्भीसहितका मिचाहा झार हटाएर यसलाई आकर्षक बनाउन लागिएको उहाँले बताउनुभयो  । अहिले पनि दैनिक यस तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका उहाँले बताउनुभयो । रानीपोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरुङ् निर्माणको चरणमा रहेको यस ताल पर्यटकका लागि आकर्षणको केन्द्र विन्दु बन्ने बताउनुभयो । उहाँले भन्नुभयो “अहिले ताललाई आकर्षक बनाउन लागिएको छ ।”

उद्यान निर्माण र भौतिक संरचना निर्माणको काम भइरहेको जनाउँदै उहाँले भ्रमणवर्ष अघिनै काम सक्ने गरी निर्माण कम्पनीसँग कुरा भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार मन्दिर निर्माण, तालको आकर्षण्का रुपमा विभिन्न जनावरको मूर्ति निर्माण तथा पेटी निर्माणकार्य भइरहेको छ । उहाँले भन्नुभयो “निर्माण सम्पन्न हुँदा पर्यटकका लागि रमणीय र मनमोहकस्थलको रुपमा यसलाई विकास गर्न लागिएको छ । भ्रमण वर्षमा यहाँको काम सम्पन्न हुनसके आएका पर्यटकलाई केही समय भए पनि रमणीयस्थलको अवलोकन गराउन सकिने गरी काम अघि बढाउन भनेका छौँ ।”

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।