घोडेपानी–पुनहिलमा १४ हजार बढी पर्यटक

अर्थबिट २०८०-०७-१४ ०८:१७:०० बजे

म्याग्दी । विसं २०८० सुरु भएयता म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रमा १४ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । 

विसं २०८० को वैशाख १ देखि कात्तिक १३ गतेसम्म १४ हजार चार सय २१ पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेको पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । चौकीका प्रहरी हवल्दार रामबहादुर केसीले घोडेपानी–पुनहिल क्षेत्रमा कोरोना महामारी सुरु हुनुअघिकै हाराहारीमा पर्यटक आउन थालेको बताउनुभयो । 

“घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख र तथ्याङ्क राख्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “वैशाखदेखि यता ११ हजार दुई सय ३१ पर्यटक भित्रिएका र तीन हजार एक सय ९० पर्यटक घोडेपानी हँुदै अन्यत्र गएका छन् ।”

वैशाखमा चार हजार चार सय १४, जेठमा एक हजार दुई सय ८३, असारमा चार सय ५०, साउनमा नौ सय २९, भदौमा नौ सय ७२, असोजमा चार हजार दुई सय ९८ र कात्तिकको १३ गतेसम्म दुई हजार ७५ पर्यटक आएको चौकीले जनाएको छ । 

घोडेपानीका होटल व्यवसायी रहनुभएका टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले विदेशीसँगै स्वदेशी पर्यटकको पनि चहलपहल बढेको बताउनुभयो । “अनुकूल मौसम र चाडपर्वको बिदाको समय भएकाले आन्तरिक पर्यटकको आगमन पनि राम्रो छ”, उहाँले भन्नुभया,े “कोरोना महामारीपछि पर्यटक आगमन पुरानै लयमा फर्कन थालेको छ ।”

विसं २०७९ मा २६ हजार तीन सय ११ पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेको तथ्याङ्क पर्यटक प्रहरी चौकीको छ । समुन्द्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् ।    

घोडेपानीमा साना ठूला गरी ३० होटल छन् । पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि माइलादाई होटल तथा रेष्टुरेण्टलाई रु ६३ लाख ११ हजारमा ठेक्का सम्झौता गरेको छ । पुनहिल प्रवेश गर्न नेपालीले रु ५० र विदेशीले रु एक सय ५० प्रतिव्यक्तिका दरले शुल्क तिर्नुपर्छ ।   

पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सुर्योदयको दृष्य अवलोकन गर्न पाउनुपनि पुनहिलको अर्को विषेशता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ । 

अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरे हुँदै गरी चारवटा नाकाबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन । म्याग्दीको पोखरेबगर घार शिख चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधन भएर पुग्न सकिन्छ । घोडेपानीमा बास बस्ने पर्यटकहरु एका बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।