नगरकोटमा तीन दिने सडक महोत्सव

अर्थबिट २०८०-०७-२१ ०३:४०:०० बजे

भक्तपुर ।  भूकम्प र कोरोना महामारीका कारण शिथिल नगरकोटमा पर्यटकीय गतिविधि बढाउन यही कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव आयोजना गरिनेभएको छ । 

नगरकोट नाल्दुम पर्यटन विकास समिति नगरकोटमा आयोजना गर्न लागेको महोत्सवको तयारी पूरा भएको समितिका अध्यक्ष नवीन गुरुङले जानकारी दिनुभयो । उहाँले नगरकोटलाई आन्तरिक तथा बाह्य पर्यटनको मुख्य केन्द्र बनाउन, पर्यटकको सङ्ख्या बढाउन र रैथाने वस्तुका उत्पादनकर्तालाई लाभान्वित गर्न महोत्सवको आयोजना गर्न लागेको बताउनुभयो । 

यहाँका होटल तथा रेस्टुरेन्ट व्यवसायी र स्थानीय रैथाने उत्पादकको संलग्नतामा हुने महोत्सवमा स्थानीय किसान र साना व्यवसायीसँगै होटल तथा रेस्टुरेन्टका लागि २५ वटा कक्ष बुक भएको बताउनुभयो । महोत्सवमा आउने पर्यटकले स्थानीय रैनाथे खानाको स्वादसँगै राष्ट्रिय एवं स्थानीय कलाकारको विभिन्न प्रस्तुतिसमेतको सांस्कृतिक कार्यक्रम हुने उहाँको भनाइ छ ।

महोत्सवमा चङ्गा चेट प्रतियोगिता समेत हुने भएको छ । नगरकोट बसपार्क नजिकैको नगरकोट चोकमा हुने महोत्सवको अवधि भर यहाँका ठूला तथा साना होटलले बसाइमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ । अध्यक्ष गुरुङले केही होटलले आन्तरिक रुपमा त्यसभन्दा बढी पनि छुट दिनसक्ने बताउनुभयो । 

चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं समितिका उपाध्यक्ष धनबहादुर तामाङले नगरकोटमा दिगो पर्यटन विकास गरी स्थानीय कला, संस्कृतिलाई पर्यटनसँग जोडेर यहाँको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउन महोत्सव सफल हुने बताउनुभयो । 

उहाँले चाँगुनारायण नगरपालिकाले २०८२ साललाई पर्यटन वर्ष मनाउने नीति अघि सारेको र त्यसका लागि नगरपालिकाले यसवर्ष पर्यटन पूर्वाधारको विकासका लागि रु एक करोड बजेट विनियोजन गरेको बताउनुभयो । 

समितिका अध्यक्ष गुरुङका अनुसार नगरकोटमा एकदेखि चार स्टारसम्मको ८२ वटा होटल तथा रिसोर्ट सञ्चालनमा छन् । चाँगुनारायण, मण्डनदउपुर, बनेपा र शङ्करापुर नगरपालिकाले महोत्सवमा सहयोग गर्ने भएका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।