नेपालले स्वीट्जरल्याण्डसँग हवाई सम्झौता गर्दै

अर्थबिट २०८०-०९-०७ ०२:२६:०० बजे

काठमाण्डौ ।  नेपालले युरोपेली मुलुक स्वीट्जरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीट्जरल्याण्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो । 

मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेका अनुसार स्वीट्जरल्याण्डसँग आगामी फेब्रुअरीको पहिलो हप्ता काठमाण्डौमा द्विपक्षीय हवाई सेवा सम्झौता हुने सहमतिअनुरुप आवश्यक तयारी गरिएको छ । मध्यपूर्वी एशियाली मुलुक इण्डोनेसियासँग पनि सम्झौताका लागि समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । 

महाशाखाका प्रमुख लामिछानेले भन्नुभयो, “इन्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौताका लागि समन्वय भइरहेको छ, समय तय गर्न बाँकी छ ।”

ती दुवै मुलुकसँगको हवाई सम्झौताका लागि हालैको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको छ । सरकारले छिट्टै रुससँग पनि नयाँ हवाई सेवा सम्झौता गर्दैछ । उक्त प्रयोजनका लागि पनि समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

यसअघि गत मङ्सिर १९ गते नेपाल सरकार र रुवाण्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो । यससँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४१ पुगेको छ । अन्य केही मुलुकसँग पनि द्विपक्षीय हवाई सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।