“पुसपछि नेप्से परिसूचकले २२ सय विन्दू ब्रेक गर्छ”

अर्थबिट २०८०-०९-२४ ०२:३३:०० बजे

काठमाण्डौ । केही समयअघि नेप्से परिसूचक २ हजार विन्दू आसपास र दैनिक कारोबार रकमसमेत १ अर्ब हाराहारीमा सीमित थियो । पछिल्लो समय अर्थतन्त्र सुधारोन्मुख भइरहेको दाबीका बीच बैंक तथा वित्तीय संस्थाहरुसँग भएको तरलता र घट्दो ब्याजदरले शेयर लगानीकर्ताको मनोबल बढाउन केही टेवा पुगेको छ । फलस्वरुप शेयर बजारमा विस्तारै सकारात्मक माहौल सिर्जनासमेत भइरहेको देखिन्छ ।  

नेप्से परिसूचक १८ सय विन्दू हाराहारीमा कयौं पटक ठोक्किएर पुनः उकालो चढेको बजारले फेरि २२ सय विन्दूलाई पार गर्न निक्के हम्मेहम्मे परिरहेको छ । आखिरमा किन यस्तो भइरहेको छ । शेयर बजारको पछिल्लो माहौलका विषयमा अर्थबिटले लगानीकर्ताहरुको धारणा बुझ्ने प्रयास गरेको छ ।

रास्वपाका सांसद तथा शेयर लगानीकर्ता हरि ढकाल भने पछिल्लो समय शेयर बजारलाई पूर्णकालीन बनाउन नसकेको बताउँछन् । यद्यपि बजारमा देखिएको तरलताको सहजता र घट्दो ब्याजदरले भने आगामी दिनमा नेप्से परिसूचकले सकारात्मक लय समात्ने उनको आंकलन छ । “आगामी महिना ब्याजदर थप घट्ने हुनाले शेयर बजारले सकारात्मक लय समात्नेमा म चाहिँ ढुक्क छु ।”,उनले अर्थबिटसँगको कुराकानीमा भने । 

यसपटक नेप्से परिसूचक २२ सय ६० विन्दूलाई छैठौं पटकमा भने ब्रेक गर्ने आधारहरु बनेको ढकालले दाबीसमेत गरे । घट्दो बैंक ब्याजदर र थप आएका नयाँ ब्रोकर कम्पनीहरुले समेत बजार माथि उचाल्न सहयोग गर्ने उनको नितान्त व्यक्तिगत बुझाई छ । झण्डै ३० महिना शेयर लगानीकर्ताहरु प्यानिक अवस्थाबाट गुज्रिसकेको बताउँदै अब अवस्था सामान्य हुँदै जाने उनले अनुमान गरे । 

ढकालका अनुसार शेयर बजारमा पछिल्लो समय ट्रेडर( अल्पकालीन कारोबारी) हावी भएका छन् । लगानीकर्ताहरुमा रहेको मनोविज्ञानमा समेत फरकपन आएको उनले सुनाए । “साँच्चै भन्नुपर्दा बजार नै अहिले ट्रेडरको हातमा छ । विगत ३ वर्षयता भने बजारमा ट्रेडरको भूमिका नै मुख्य बन्दै गइरहेको छ ।”,ढकालले अर्थबिटसँग भने । 

यसैबीच २ दशकभन्दा लामो समयदेखि शेयर बजारमा सक्रिय तारा फुल्लेल नेपाल शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष हुन् । बजारको पछिल्लो परिदृश्यलाई नजिकैबाट नियालिरहेका उनले नेप्से  परिसूचक धेरै तल झरेर बटमसमेत लगाइसकेको दाबी गरे । बजार बुलमा गएको उनको बुझाइ छ । 

फुल्लेलको पनि घट्दो ब्याजदर तर तरलता प्रशस्त भएकाले बजार उकालो नै लाग्ने विश्लेषण छ । “पुसपछि बजार माथि जाने र रेकर्ड ब्रेक गर्नेछ । ” ,उनले भने । आधारभूत रुपमा बलिया र दीर्घकालीन  लगानी सुरक्षित हुनेमा उनले जोड दिए । आधारभूत रुपमा कमजोर कम्पनीहरुमा भने जोखिम धेरै हुने उनको ठम्याइ छ । 

पछिल्लो समय शेयर बजारमा स्मार्ट लगानीकर्ताहरुको प्रवेश व्यापक भएको फुल्लेल सुनाउँछन् । आधारभूत तथा प्राविधिक पक्ष अध्ययन गरेका स्मार्ट लगानीकर्ताहरु अल्पकालीन कारोबारमा केन्द्रित  भइरहेका  उनले जिकिर गरे । “कारोबारको मोडालिटीले नै अल्पकालीन कारोबारीहरु हावी भइरहेको देखाउँदछ” उनले अर्थबिटसँगको कुराकानीमा भने । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।