लगानीकर्ताले थाहै नपाई ब्रोकरले सुटुक्कै शेयर बिक्री गर्दै

अर्थबिट २०८०-१०-०५ १२:११:०० बजे

काठमाण्डौ । स्टक ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजले ग्राहकको अनुमतिबिनै शेयर बिक्री गरिदिएको छ । 

सुमेरु सेक्युरिटीज बिर्तामोड शाखाले आफ्नै ग्राहक मोरङ उर्लाबारी निवासी युवराज काफ्लेको अनुमति र आदेश बिनै शेयर बिक्री गरिदिएको हो ।

ग्राहकको अनुमति बेगर ब्रोकरले बिहीबार शेयर बिक्री गरिसकेपछि काफ्लेको मोबाइलमा हिमालयन रिइन्स्योरेन्स(एचआरएल)को १० कित्ता शेयर बिक्री भएको म्यासेज आयो तत्पश्चात् उनी अचम्ममा परे । अनुमति बिनै शेयर बिक्री भएपछि गुनासो सुनुवाइका लागि उनले म्यासेजमा उल्लिखित मोबाइल नम्बरमा सम्पर्क गर्ने प्रयास गरे  । ब्रोकर खाता रहेकै शाखामा समन्वय गर्नुपर्ने भयो । लगत्तै उनले सुमेरु सेक्युरिटीजको बिर्तामोड शाखामा समेत सम्पर्क गर्दा सिस्टम अपग्रेड भएपछि मात्रै भन्न मिल्ने जवाफ पाए । पीडित काफ्लेलाई ब्रोकरले रणभूल्ल पारेपछि आजित भएर उनले फेसबुकमा आफ्नो समस्या सार्वजनिक गरे । सामान्य लगानीकर्तालाई ब्रोकरहरुले खासै महत्व र प्राथमिकतामा राख्दैनन् । समस्या समाधान गर्न ब्रोकरले पहल नदिएपछि अर्थबिटले यस विषयमा के भएको हो भनेर खोज अनुसन्धान गर्यो ।

विगत ५–६ महिनादेखि काफ्लेले शेयर किनबेच नगरी होल्डमा बसेको अर्थबिटसँगको कुराकानीमा भने । टीएमएस लगइन नै नगरेको उनले बताए । 

सुमेरु सेक्युरिटीजका सञ्चालक प्रेम अग्रवाललाई यस विषयमा जिज्ञासा राख्दा मानवीय त्रूटि भएको जिकिर गरे । “२ जना क्लाइन्टको नाम नै युवराज काफ्ले सेम रहेछ । सेम नामबाट बिक्री गर्दा यस्तो त्रूटि हुन गयो । गल्ती भएकै हो । हामी सेटल गर्दिन्छौँ । ह्युमन इरर हो । अरु केही भएको होइन ।”,उनले अर्थबिटसँगको फोनसम्पर्कमा भने । 

यता नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड(नेप्से)का एक अधिकारीले ब्रोकरले टीएमएसको एडमिन लगइन दुरुपयोग गरी शेयर बिक्री भएको दाबी गरे ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।