सन् २०२४ मा वैश्विक पर्यटन महामारीपूर्वको स्तरमा पुग्ने

अर्थबिट २०८०-१०-०६ १२:३०:०० बजे

मेड्रिड । एसियामा अपेक्षित पुनरुत्थानका कारण सन् २०२४ मा अन्तर्राष्ट्रिय पर्यटन स्तर आफ्नो महामारीपूर्वको स्तरभन्दा थोरैले बढी हुने राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) ले शुक्रबार बताएको छ । 

मेड्रिडस्थित सङ्गठनले विज्ञप्तिमा भनेको छ, “अन्तर्राष्ट्रिय पर्यटन सन् २०२४ मा पूर्व–महामारीको स्तरमा पूर्णरूपमा प्राप्ति हुने अपेक्षा गरिएको छ, प्रारम्भिक अनुमानले सन् २०१९ को स्तरभन्दा दुई प्रतिशतले वृद्धिलाई औँल्याएको छ ।”

गत वर्षको आँकडाले एक अर्ब ३० करोड पर्यटकले विदेश यात्रा गरेको देखाएको छ । यो सन् २०२२ को तुलनामा ४४ प्रतिशत र सन् २०१९ को तुलनामा ८८ प्रतिशतले बढी हो । युएनडब्लुटिओले एसियाली बजारमा बलियो सुधारतर्फ सङ्केत गरेको छ तर सबैभन्दा ठूलो वृद्धि मध्यपूर्वमा भएको बताएको छ । मध्यपूर्व सन् २०१९ देखि २२ प्रतिशत आगमनका साथ पूर्व–महामारीको स्तरलाई पार गर्ने एउटा मात्र क्षेत्र थियो । 

विश्वको सबैभन्दा धेरै भ्रमण गरिएको क्षेत्र युरोपले पनि बलियो प्रदर्शन देखेको छ । यहाँ सन् २०१९ को पर्यटन आँकडाको ९४ प्रतिशतसम्म पुगेको छ । अफ्रिकी आँकडा भने ९६ प्रतिशतसम्म पुगेको छ । 

चीनले विश्वबाट आफैँलाई अलग गरेर एक वर्षअघि तीन वर्षको कठोर शून्य–कोभिड रणनीतिपछि स्वास्थ्य प्रतिबन्ध हटाएको भए पनि सापेक्षिक दृष्टिमा एसिया–प्रशान्त क्षेत्र मात्र ६५ प्रतिशत पूर्व–महामारी स्तरका साथ पर्यटन आँकडा सबैभन्दा कमजोर थियो । 

युएनटिडब्लुओका महासचिव जुराब पोलोलिकासभिलीले विज्ञप्तिमा भन्नुभयो, “पछिल्लो युएनडब्लुटिओ आँकडाले पर्यटनको खुकुलो र तीव्र सुधारलाई रेखाङ्कित गरेको छ, सन् २०२४ को अन्त्यसम्म महामारी–पूर्व सङ्ख्याको अपेक्षा गरिएको छ ।”

नोभेम्बरको अन्त्यसम्म फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन र मलेसियाका नागरिकहरूले भिसामुक्त यात्राको प्रस्ताव गरेसँगै यस वर्ष चिनियाँ पर्यटनले गति लिने अपेक्षा गरिएको छ । 

यद्यपि सन् २०२४ का लागि भविष्यवाणी विशेषगरी इजराइल–हमास युद्ध र अस्थिर वैश्विक अर्थतन्त्रका कारण एसियामा सुधारको गति र विद्यमान आर्थिक तथा भू–राजनीतिक नकारात्मक जोखिमहरूको विकासको अधीनमा रहने छ ।

“निरन्तर मुद्रास्फीति, उच्च ब्याजदर, अस्थिर तेलको मूल्य र व्यापारमा अवरोधले सन् २०२४ मा यातायात र आवास लागतलाई प्रभावित गर्न जारी राख्न सक्छ”, विज्ञप्तिमा चेतावनी दिइएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।