काठमाण्डौबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने

अर्थबिट २०८०-१०-०७ ०८:३१:०० बजे

Binod Bista

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाण्डौ बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो । 

उक्त निर्णयअनुरुप वायुसेवा कम्पनीले जहाज काठमाण्डौबाहिरका विमानस्थलमा राखेर काठमाण्डौका लागि पहिलो उडान पनि सञ्चालन गर्दै आइरहेका थिए तर पछिल्लो समय कतिपय जहाज प्राविधिक, मौसमलगायत कारण देखाएर एयरलाइन्सले काठमाण्डौमा रात्रि बिसान गर्न थालेपछि विमानस्थले पुनः कडाइ गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै काठमाण्डौ ‘बेस’ भएर उडान गरिरहेका वायुसेवा कम्पनीलाई काठमाण्डौमा रात्रि बिसान नगरी काठमाण्डौबाहिरका विमानस्थलमा लैजान निर्देशन दिएको थियो ।

कतिपय एयरलाइन्सले तोकेको ‘बेस’मा जहाज रात्रि बिसान नगरी विभिन्न कारण देखाउँदै काठमाण्डौमा भीडभाड हुन थालेपछि थप कडाइ गर्न लागिएको बताउनुभयो । “पछिल्लो समय एयरलाइन्सले कहिले प्राविधिक र कहिले मौसमको कारण देखाउँदै काठमाण्डौ विमानस्थलमा रात्रि बिसान गर्न थालेपछि भीडभाड बढेकाले थप कडाइ गर्न लागिएको हो”, विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भन्नुभयो, “एयरलाइन्सहरुलाई विभिन्न ‘बेस’ तोकिएको छ, सोही अनुसार उनीहरुले जहाज रात्रि बिसान गर्नुपर्छ ।”

काठमाण्डौबाहिरका चन्द्रगढी, विराटनगर, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा जहाजको रात्रि बिसान हुने गरेको छ । ती जहाजले काठमाण्डौका लागि सम्बन्ध्ति गन्तव्यबाट पहिलो उडान गर्दै आएका छन् ।

महाप्रबन्धक तिवारीका अनुसार उडान चाप व्यवस्थापन र जहाज पार्किङको जोखिम पनि कम हुने भएकाले काठमाण्डौबाहिरका विमानस्थलमा रात्रि बिसानका लागि थप प्रभावकारी बनाउन लागिएको हो । यसबाट काठमाण्डौबाहिरबाट आउने यात्रुलाई पनि यसले सहज हुनेछ ।

प्राधिकरणको निर्णयअनुसार निजी क्षेत्रका बुद्ध एयरको छ, यती एयरलाइन्स र श्री एयरलाइन्सको समान दुई तथा सौर्य, सीता, तारा एयरका समान एक–एक जहाज मात्रै काठमाण्डौ विमानस्थलमा रात्रि बिसान गर्न पाइने निर्णय भएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।