‘माइनर डिम्याट’खाताबाट शेयर बिक्री गर्नुभयो तर पैसा आएन ?, यसो गर्नुस्

अर्थबिट २०८०-१०-०८ ११:१६:०० बजे

काठमाण्डौ । शेयर बजार विस्तारै गुल्जार बन्दैछ । शेयर खरिदबिक्री पनि बढ्दो छ । शेयर बिक्री गरिसकेपछि भुक्तानी पाउनबाट बञ्चित भइरहनु त भएको छैन ? कि क्लोजआउटमा पर्नुभयो ? सानो कुरा ख्याल नगरेको कारण कतै दुः ख त पाइरहनु भएको छैन नि ?

शेयर बिक्रीबापतको रकम भुक्तानी नपाउनुको कारणहरुका विषयमा आज चर्चा परिचर्चा गर्नेछौँ । शेयर बिक्रीबापतको रकम पाउनबाट बञ्चिन नहुन र क्लोजआउटको झमेलाबाट बच्नका लागि आज हामी सिक्नेछौँ । 

बचत तथा लगानीका लागि भनेर अभिभावकहरुले आफ्ना सन्तानका नाउँमा शेयर खरिद गरिरहेका हुन्छन् । विशेषगरी दीर्घकालीन लगानीका लागि प्राथमिक बजारमार्फत आइपीओको शेयर खरिद गर्ने चलन रहेको छ । १६ वर्ष पुगेपछि प्रशासनले नागरिकता प्रदान गरे तापनि शेयर खरिदबिक्री गर्न भने बालिग(१८ वर्ष) नै पुग्नुपर्दछ तर अभिभावकको संरक्षत्वमा भने बालिग(माइनर) खाता खोली शेयर खरिदबिक्री गर्न भने सकिने व्यवस्था छ ।

नाबालिगबाट लगत्तै बालिगमा (१८ वर्ष) पुगिसकेपछि ब्रोकरबाट बिक्रीबापतको रकम भुक्तानी पाउन र क्लोजआउटका समस्याहरु धेरै आइरहेका हुन्छन् । सिडिएससीको ‘मेरो शेयर’ मा लगइन गर्दा ‘माई शेयर्स’ मा ‘फ्रोजन फर डेबिट’ भनेर देखाउँछ । ‘फ्रोजन फर डेबिट’ हुने मुख्य ३ कारण छन् । पहिलो कारण नाबालिगबाट बालिग भइसकेपछि खाता अद्यावधिक नगर्नु र दोस्रो कारण चाहिँ डिम्याट खाता नै नवीकरण(वार्षिक शुल्क रु.१००) नभएको अवस्था हो । तेस्रो कारण चाहिँ अनलाइनबाट डिम्याट खाता खोलिसकेपछि डीपीमा स्वयं भौतिक उपस्थिति नभइन्जेलसम्म सम्बन्धित डीपीबाट भेरिफाई नभएको हुनसक्छ । यी कारणहरुका बाबजुद टीएमएसबाट शेयर बिक्री गर्न भने मिल्दछ तर माथि उल्लिखित कारणहरुको निराकरण नगरेमा भने शेयर हस्तान्तर गर्न मिल्दैन र बिक्रीबापतको रकम भुक्तानी पाईँदैन । त्यसका साथै क्लोजआउटमा पनि परिन्छ । 

सामान्यतया सिडिएससीको मेरो शेयरमा अनलाइन प्लेटफर्ममा रहेको ‘माई पोर्टफोलियो’ मा हेरेर शेयर बिक्री गर्ने चलन छ । ‘माई शेयर्स’ मेनुमा रहेको रिमार्कसमा खाली वा फ्री ब्यालेन्समा रहेको शेयर कित्ता मात्रै बेच्नुपर्दछ । 

१८ वर्ष वा सोभन्दा बढी उमेर पुगिसकेपछि भने बालिग(माइनर) डिम्याट खाता छ भने सम्बन्धित डीपी(डिम्याट खाता खोलेको संस्था) मा गई डिम्याट खाता अद्यावधिक गरेमा क्लोजआउटको समस्या झेल्नुपर्दैन । ब्रोकरले शेयरबिक्री पश्चात् झन्झटमुक्त आर्थिक लेनदेन सुनिश्चित गर्न आवश्यक पर्दछ । नाबालिगबाट बालिग भएलगत्तै डीपीमा गई खाता अद्यावधिक गर्न अत्यावश्यक छ ।  

क्लोजआउट भनेको के हो ?

क्लोज आउट भन्नाले बिक्रीकर्ताले आफूले बुझाउनु पर्ने धितोपत्र फछ्र्यौट अवधि भित्र हस्तान्तरण नगरेमा सो बापत लिनु र दिनु पर्ने रकम तथा धितोपत्र हिसाब मिलान गर्ने कार्य हो ।अर्थात् शेयर बिक्रीकर्ताले बिक्रीपश्चात् विविध कारणले गर्दा शेयर ट्रान्सफर नभएर खरिदकर्ताले शेयर नपाउने अवस्था नै क्लोजआउट हो ।  

राफसाफ तथा फछ्र्यौट कार्य तोकिएको समयमा सम्पन्न नगरेमा बजारको आवश्यकता एवं प्रकृति हेरी सिडिएससिले क्लोज आउट गर्ने गर्दछ। 

यसरी क्लोज आउट गर्दा बिक्रीकर्ता राफसाफ सदस्यले क्लोज आउट भएको कारोबार मुल्यको २० (बीस) प्रतिशत रकम थप गरी सिडिएससिमा बुझाउनु पर्ने  हुन्छ । यसरी प्राप्त २० प्रतिशत रकममा २५ (पच्चीस) प्रतिशत आकस्मिक लाभकर कट्टा गरी सिडिएससिले बाँकी रकम खरिदकर्ता राफसाफ सदस्यको खातामा रकमान्तर गर्ने गर्दछ। क्लोज आउट बापतको रकम खरिदकर्ताले सम्बन्धित राफसाफ सदस्यलाई बुझाउनु पर्ने हुन्छ भने खरिदकर्ता राफसाफ सदस्यले क्लोज आउट बापत प्राप्त भएको रकम सम्बन्धित खरिदकर्ता लगानीकर्ताको खातामा रकमान्तर गर्नुपर्ने हुन्छ ।

के के कारणले क्लोजआउट हुने गर्छ ?

शेयर ट्रान्सफर नभएर नै क्लोजआउटमा पर्ने गर्दछ । शेयर बिक्री गरेपछि बिक्रीकर्ताले शेयर हस्तान्तरण २ वटा विधिद्वारा गर्न सक्दछन् । एउटा सिडिएससीको मेरो शेयर पोर्टलमा रहेको ‘माई इडीआइएस’ बाट र अर्को भने निर्देशन पूर्जी(डेबिट इन्स्ट्रक्सन स्लिप–डीआइएस)बाट शेयर हस्तान्तरण गर्न सकिन्छ । निर्देशन पूर्जी भने सिडिएससीमा खाता खोलेको व्यक्ति वा संस्थाले आफ्नो खातामा धितोपत्र जम्मा गर्न(क्रेडिट) वा आफ्नो खाताबाट धितोपत्र घटाउन(डेबिट) दिइने आदेश हो । यस पूर्जीमा हरेक हितग्राहीको आ–आफ्नो ‘बीओआइडी’ नम्बर र निर्देशन पूर्जी नम्बर अग्रिम छापिएको हुन्छ । दुवै व्यवस्था भएपनि मेरो शेयर पोर्टलमा रहेको ‘माई इडीआइएस’ बाट नै शेयर हस्तान्तरण गर्ने प्रचलन बढी छ । 

शेयर ट्रान्सफर हुन नसक्ने कारणहरु के के हुन् त?

- शेयर बिक्री गरेपछि बिक्रीकर्ता ब्रोकरको सम्पर्कमा नआउने अथवा बिक्रीपछिको दायित्व वहन नगर्नाले 

- परिवारको कुनै एक सदस्यले टिएमएस र डिम्याट खाताहरु सञ्चालन गर्ने तर सम्बन्धित व्यक्ति सो बारे जानकार नहुने

- समयमा डिम्याट खाताहरु नवीकरण नगरेर

- नाबालिक हुँदा खोलिएका डिम्याट खाताहरु बलिग भएसँगै अद्यावधिक नगरेर

- अनलाइनबाट टिएमएस लिने तर शेयर ट्रान्सफर गर्नुपर्ने चेतनाको कमी 

लगानीकर्ताले क्लोजआउटबाट बच्न स्वयं चनाखो हुनुपर्छ । तपाईंले शेयर बिक्री गर्नु पूर्व सिडिएससीको मेरो शेयर लगइन गरेर माई शेयरमा रहेको फ्रि ब्यालेन्स कोलममा मौज्दात मात्रै हेरिदिदा पनि शेयर बिक्रीपश्चात् पर्न सक्ने क्लोजआउटको जोखिमबाट बच्न सकिन्छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।