यी ५ कारण जसले चन्द्रागिरी हिल्स(सीजीएच)को शेयरमूल्य उचाल्दैछ !

अर्थबिट २०८०-१०-११ ०९:४६:०० बजे

काठमाण्डौ । धितोपत्र बजारमा निक्कै छोटो समयमा चन्द्रागिरी हिल्स लिमिटेड(सीजीएच)को शेयरमूल्यले फड्को मारेको छ । नेप्से परिसूचकले ओरालो यात्रा तय गर्दैै गर्दा यस कम्पनीको शेयरमूल्य भने लगातार २ दिन यता पोजिटिभ सर्किट नै लागेर बढेको हो । 

गत सोमबारका दिन सीजीएचको शेयरमूल्य ८६३ रुपैयाँ प्रतिकित्तामा कारोबार बन्द भयो तर मंगलबार र बुधबार भने पोजिटिभ सर्किट लागेर २ दिनमै १८१ रुपैयाँ वृद्धि भइसकेको छ । 

गत मंगलबारदेखि लकइन पिरियड समाप्त भई सीजीएचको संस्थापक तथा स्थानीय बासिन्दालाई वितरित शेयरहरुको आपूर्तिले मूल्य घट्ने अपेक्षा चौतर्फी रहेको थियो । दोस्रो बजारमा कारोबार भइरहेको सर्वसाधारण समूहको शेयर होल्ड गरेका लगानीकर्ताहरुले सीजीएचको लकइन पिरियड समाप्तिसँगै सीजीएचको आपूर्ति आउँदा मूल्य घट्ने र किन्ने दाउमा प्रतिकित्ता रु. ९०० हाराहारीमा हुत्याएर ६०० रुपैयाँमा किन्न च्याँखे थापेर बसे । तर बजारमा शेयरमल्य घट्नुका साटो उल्टै वृद्धि हुँदा धेरै लगानीकर्ताहरु जिल्ल त परे नै बेचैन भइरहेका भेट्टिन्छन् । 

नेप्सेमा सूचीकृत चन्द्रागिरी हिल्स लिमिटेड(सीजीएच)को १ करोड ५३ लाख ४० हजार ९१० कित्ता कायम छ । यसअघि सर्वसाधारणसमूहको १२ प्रतिशत अर्थात् १८ लाख ४० हजार ९०९ कित्ता मात्रै कारोबार भइरहेको थियो । गत मंगलबार भने थप ८८ प्रतिशत अर्थात् १ करोड ३५ लाख १ कित्ता दोस्रो बजारमा कारोबारयोग्य भयो । 

सीजीएचको कुल ८८ प्रतिशत संस्थापक शेयर नै कुल ११ जना प्रमोटरहरुको रहेको छ । जसमध्ये संस्थापकद्वय चन्द्रप्रसाद ढकाल र अम्बिका प्रसाद पौडेलको मेजर होल्डिङ्ग रहेको छ । १ वर्ष अघि तिनै ढकाल र पौडेलले सञ्चालक पदबाट राजीनामा दिँदा संस्थापक शेयर दोस्रो बजारमा बिक्री गर्नका लागि भन्ने अनुमान गरिएको थियो । चन्द्रागिरी हिल्सको भौतिक निर्माणमा फाइनान्सिङ्ग गर्दा उनै द्वय ढकाल र पौडेल व्यक्तिगत जमानी बस्नु पर्ने बाध्यता रहेको छ जसका कारणसमेत उक्त मेजर होल्डिङ्ग बजारमा आपूर्ति नभएको अर्थबिट स्रोतको जिकिर छ । 

चन्द्रागिरी हिल्स कम्पनीको प्रमोटरहरुमध्ये केहीले प्रतिकित्ता रु.८५० मा नै खरिद गरेका हुनाले समेत यसको मूल्य सो मूल्यभन्दा तल नआएको बुझाइ छ ।  

सीजीएचकै संस्थापकहरुमध्ये केहीले यसअघि नै कारोबारमा आएको सर्वसाधारणको शेयरमध्ये १–२ लाख कित्ता किनेर प्रतिकित्ता रु.१५ सय पुर्याउने बजार हल्ला फैलिएकाले समेत लगातार पोजिटिभ सर्किट लागेको स्रोतको भनाइ छ । 

कम्पनीले आगामी २ वर्षसम्म अझै प्रतिफल दिन नसक्ने दाबी गरेको अर्थबिट स्रोतका अनुसार शतप्रतिशत (१:१) हकप्रद शेयर जारी गर्ने तयारीसमेत भइरहेको छ । यसैकारणसमेत सीजीएचको शेयरमूल्य निरन्तर उकालो लागेको बताइन्छ । 

पछिल्लो समय देशमा आन्तरिक तथा बाह्य पर्यटक वृद्धि कारण पर्यटन क्षेत्र चलायमान भइरहेको त छ नै सरकारले समेत प्राथमिकता दिइरहेको छ । नेप्से परिसूचक २ हजार विन्दू मुनि हुँदा नै होटल्स तथा टुरिजम उपसूचक भित्र रहेका कम्पनीहरुको शेयरमल्य भने दोब्बर भए तर सीजीएचको १२ सय प्रतिकित्ता कारोबार भइरहँदा संस्थापकको आपूर्ति आउने डरले शेयरमूल्य घट्यो तथापि अहिले सोही शेयरमूल्य उन्मुख रहेको कतिपयको बुझाइ छ । बजारमा  होटल्स तथा टुरिजम उपसूचक भित्रका कम्पनीहरु साइडवेज विगत लामो समयदेखि रहँदै आएको छ जसमा अब भने सीजीएचले लिडिङ्ग गर्दै सो सेक्टरमा वृद्धि हुने जानकारहरुको बुझाइ छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।