नेपालगञ्ज–जनकपुर हवाई सेवा सुरु हुँदै

अर्थबिट २०८०-११-०२ १०:५४:०० बजे

नेपालगञ्ज । नेपालगञ्ज–जनकपुर हवाई सेवा यहीँ सातादेखि सुरु हुने भएको छ । 

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जमा रहेको मिथिला समाजको आग्रहमा आगामी शनिबार र सोमबार चार्टर उडान हुने जानकारी दिनुभयो । यसले धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै भारतको अयोध्यासँग नेपालगञ्जको बागेश्वरी मन्दिर र जनकपुर मन्दिरलाई जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।  

अध्यक्ष सिग्देलले यति एअरलाइन्सबाट सुरु हुने हवाई उडानका लागि अहिले एकतर्फी रुपमा रु आठ हजार पाँच सय भाडा कायम भएको जानकारी दिँदै उडान अवधिको समय १ः३० निर्धारण गरिएको बताउनुभयो । उहाँका अनुसार विभिन्न सरोकारवाला सङ्घसंस्थाको पहलमा सुरु हुने हवाई सेवाका लागि रु ३० लाख खर्च हुने अनुमान गरिएको छ । 

“अहिले हामीले बाटो देखाउने कोसिस मात्रै गरेका छौँ”, अध्यक्ष सिग्देलले भन्नुभयो, “यसबाट पर्यटकको चहलपहल बढ्ने छ । साथै नेपालगञ्जको बजार चलायमान हुएर यहाँको व्यापारव्यावसाय गतिशील बन्दै जानेछ ।”

भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि नेपालको जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गर्नाले पुण्य प्राप्त हुने पौराणिक मान्यता छ । उहाँले पर्यटन प्रवर्द्धनका लागि हवाइमार्गसँगै नेपालगञ्ज–अयोध्या अत्याधुनिक बस सेवा सञ्चालन गर्न आवश्यक रहेको भन्दै यसबाट नेपालगञ्जको वास्तविक समृद्धि हुने बताउनुभयो ।  

“भारतको अयोध्याबाट नेपालगञ्ज सबैभन्दा नजिकको सहर हो । नेपालगञ्जबाट भारतको अयोध्या एक सय ७१ किलिमिटरको दूरीमा रहेको छ”, उहाँले भन्नुभयो । नेपालका सबै पर्यटकीयस्थललाई जोडन हवाई मार्ग प्रभावकारी हुने भएकाले हवाई कनेक्टीभिटी पर्यटनको लागि सबैभन्दा सहज माध्यम भएको अध्यक्ष सिग्देलले बताउनुभयो ।  

नागरिक अभियन्ता तथा अधिवक्ता विश्वराज तिवारीले हवाई मार्ग सुरु भएपछि धार्मिक पर्यटन चलायमान हुने उल्लेख गर्दै जनता र संस्कृतिबीचको निकटता बढ्ने बताउनुभयो । उहाँले भारत र नेपालीबीचको सम्बन्ध थप बलियो हुनेमा जोड दिँदै यसबाट जनकपुर जानेलाई मानसरोवर जानका लागि सहज हुने बताउनुभयो । 

नेपालगन्जमा बागेश्वरी मन्दिर बाहेक नेपालगञ्जमा अन्य धार्मिक मठमन्दिर र पर्यटकीयस्थलसमेत छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।