तिलक कोइरालाको नसुनिएको कथा : ‘शेयर बजारबाट पान पराग, दिमाग खराब’

तिलक कोइराला २०८०-११-११ १३:०५:०० बजे

काठमाण्डौ । एकादेशको सेयर बजारमा एक जना लगानीकर्ता थिए । निम्न मध्यमर्गीय परिवारबाट सेयर बजारमा आएका उनी केही बर्षदेखि बजारका विभिन्न कम्पनीमा लगानी गरिरहेका थिए ।
 
उनको एउटा कम्पनीमा भने ठूलो लगानी थियो । त्यस कम्पनीको संस्थापक र साधारण सेयर दुबैमा उनको नाम अगाडि नैै आउने गर्दथ्यो । सेयर बजारमा सातामा पाँच दिन कारोबार हुन्थ्यो । कारोबार चलेको दिनमा उनी आफ्नो कम्पनीको सेयरमा माग र आपुर्तिको अबस्था, सेयरको मूल्य बढाई र घटाईमा निकै चासो दिएर हेर्ने गर्दथे । कारोबार नचलेको दिनमा भने उनी आफ्नो कम्पनीको कारोबार बृद्धि, प्रगति, नाफा, घाटा, कम्पनीको विकासका संभावना, अरु सेयरधनी र कर्मचारीहरुको भुमिका लगायतका कुराहरुमा अध्ययन, विश्लेषण, चिन्तन, मनन् गर्ने गर्दथे ।
 
कम्पनीमा उसको हिस्सेदारी ठूलो भएकाले उनी प्रभाव पनि ठूलै देखाउँन खोज्थे तर कम्पनीका अरु कतिपयले उनलाई टाढै राख्न चाहन्थे । कतिपय समयमा कम्पनीका अध्यक्ष, अरु संचालक र प्रमुख कार्यकारीसँग लफडा नै पर्दथ्यो ।
 
एकदिन कम्पनीले राजधानीको भब्य ठाउँमा बार्षिक साधारणसभा राखेको थियो । ठूलो सेयरधनीको रुपमा उनले कम्पनीको प्रगतिको योजनासहित बोल्न खोजे तर संचालक समितिले बोल्न अनुमति दिएन । विवाद चलिरहेको बेला उनी चिया वितरण भईरहेको ठाउँमा पुग्दा सेयरधनीहरुको एक समूहले घेराबन्दी गरिहाल्यो ।
 
एउटाले सोध्यो - "लफडा गर्ने तँ नै हैनस ?" उनले जवाफ दिन नभ्याउँदै अर्कोले पछाडिबाट भन्यो - ..."ठोक, ठोक सालेलाई" भीडबाट अर्कोले भन्यो - "बाहिर बसेर लफडा गर्ने हैन, मन्चमा गएर बोल, जे बोल्नु छ.." भीडले घेरेर उनलाई हलभित्रको मन्चमा पुर्यायो । उनी माईक समाएर बोल्दै गए । हलभित्र होहल्ला तीब्र भईरहेको नै थियो ।
 
उनले कम्पनीमा विदेशी लगानीको प्रस्ताब राखे तर हलको अगाडिबाट उनलाई ....."तँ विदेशी दलाल चुप लाग्...." भन्दै चिच्याहट भयो । होहल्लाकै बीचमा साधारण सभा सकियो र सबै सेयरधनीहरु साँझपख आ-आफ्ना घरतर्फ लागे ।
 
उता लामो समयदेखि घट्दो क्रममा रहेको सेयर बजारमा त्यस कम्पनीको सेयर मूल्य दैनिक जसो घटिरहेको थियो । उनी त्यस कम्पनीको सेयर मूल्य धेरै नघटोस भनेर ठूलो संख्याको खरिद आदेश राखेर मूल्य अड्याउने प्रयास गर्थे । उनको सबै सेयर बैंकमा धितोमा रहेकाले सेयरको मूल्य धेरै घट्यो भने बैंकबाटमार्जिन कल आएर बैंकले नै सेयर बिक्री गरिदिने जोखिम हुन्थ्यो । त्यसैले मूल्य सकेसम्म उचाल्ने, नसके घट्न नदिने उनको रणनीति हुन्थ्यो । यसका लागि उनले अरु लगानीकर्तामा आफ्नो कम्पनीका सकारात्मक कुराहरु प्रचार गरेर माहौल बनाउँन पनि कुनै कसर बाँकी राख्दैनथे ।
 
त्यो एकादेशको सेयर बजारमा कारोबार गर्दा AON अर्थात अल अर नन् को नियम थियो । चाहेको जति कित्ता आयो भने लिने वा दिने नत्र नदिने भन्ने अर्थ हुन्थ्यो । यसैको फाईदा उठाएर उनले लाखौं लाख कित्ता खरिद तर्फ आदेश राख्थे र मूल्य थाम्ने प्रयास गर्थे । कुनै बेला उनले राखेको खरिद आदेश माथिको मूल्यको हुन्थ्यो तर कारोबार चाँही तलको मूल्यमा भईरहँदा पनि उनले आदेश राखिरहेका हुन्थे ।
 
दैनिक घट्दो सेयर बजारमा यस्तै पाराले कारोबार चलिरहेको थियो । एक दिन उनले पहिलेको जस्तै गरी ठूलो खरिद आदेश राखेका थिए । अर्को ठूलो सेयरधनीले झ्याम्मै सेयर दिएछन् । खरिद वापतको रकम ब्रोकरलाई बुझाउने पैसा थिएन, उनको पसिना छुटिहाल्यो । साँझपख उनले अर्का लगानीकर्तालाई फोन गरेर आफ्नो बेदना सुनाए । "हिकाईदियो दाई !" "के भयो ?" "५० हजार कित्ता बाई राखेको थिएँ, दिईहाल्यो नि ।" "अनि अब के त ? " "त्यसको सेटलमेन्टको लागि ब्रोकरलाई बुझाउन पैसा भए दिनु न ।" "यस्तो खडेरीमा कहाँबाट दिनु ?" अन्तिममा उनले अनेक उपाय गरेर त्यस समस्याको समाधान गरे । अनि अब चलाख भएर मात्र बाई अर्डर राख्ने निधो गरें । उनका खराब दिनहरु चलिरहेका थिए । एक दिन साथीहरुका बीचमा निकै तनावपूर्ण मुहारमा उनी देखिए । साथीहरुले सोधी खोेजी गर्न थालेपछि बल्ल उनले आफ्ना कुराहरु खोले । "पान पराग, दिमाग खराब । धेरै तनाव भो, एउटा पान पराग किनेर खान्छु, खै ५० रुपैयाँ दिईहाल्नु नि" - उनले आफ्नो दायाँ तर्फ बसेका साथीसँग पैसा मागे । उनी पान पराग लिन नजिकको पान पसलतर्फ गएको बेला साथीहरुवीचमा उनैैको बारेमा कुरा चल्यो । हल्लन लालले भन्यो - "हैट कस्तो समय आयो, हिजोसम्म ५० हजारं कित्ता सेयर बाई अर्डर राख्नेसँग आज ५० रुपैयाँ पनि नभएर अरुसँग मागेर पान पराग खानु परेको छ ।" हर्क बहादुरले थप्योे - "त्यही त नि । म पनि अचम्ममा परें ।" शम्भु बोल्यो - "असल र खराब दिन सबैको आउँछ । धैर्य हुनुपर्छ ।" हिराकाजीले सबैको कुरा सुनिसकेपछि भन्यो - "उसले ठूलो कम्पनीमा हात हालेको छ, त्यत्रो कम्पनीको सप्लाई थेग्न कहाँ सकिन्छ त नि । सानो कम्पनी भए पो दुई चार हजारको बाई अर्डरले थेग्छ, करोडौं कित्ताको बाढीलाई कसरी थेग्नु । मज्जाले बगायो, त्यसलाई ।" सुकुमारले भन्यो - " कम्पनी त राम्रै हो, हाई सप्लाईले डुबायो ।" हिरालाल कडकियो - " देशमा नीति, नियम, प्रविधि, पुर्वाधार र नियमन राम्रो भए पो, राम्रो कम्पनीमा गरेको लगानी सुरक्षित हुुन्छ र लगानीकर्ताहरु राम्रा कम्पनीमा लाग्छन्, यस्ता कम्पनीको मूल्य बढ्छ , हाम्रो जस्तो देशमा त राम्रो कम्पनीमा लाग्नेहरु उल्टै डुब्ने त हो नि । "
 
सेयर बजारमा लगातारको गिरावट आईरहेकै थियो । त्यसै कारणले लगानीकर्ताहरु चरम निराश थिए । उ हक्की स्वभावको थियो । आफ्नो सवालमा बोल्न रत्तिभर नडराउने । लगानीकर्ताहरुले बजार सुधार र विस्तारका लागि सरकारलाई बाध्य पार्न आन्दोलन गर्नुपर्छ भन्ने कुरा निकाल्दा अगाडि सरेर "हो, ठोक्नुपर्छ" भन्थ्यो । अरु भन्दा चर्का कुरा गरेर राजधानीको सडकमा नांगै हिडेर लगानीकर्ताको शक्ति देखाउनुपर्छ भनी आन्दोलनको नयाँ शैली अपनाउने प्रस्ताब राख्थ्यो । कयौं आन्दोलनहरुमा उसले सक्रिय सहभागिता जनायो । सडकमै सुत्यो । शहरको दिसा पिसाव बग्ने ढलको दुगन्ध सहेर कयौं रात खोला किनारमा बितायो । आन्दोलनमा पक्राउ परेपछि प्रहरीको कष्टडीमा पनि बस्यो ।
 
एक दिन सेयर बजारमा ठूलो गिरावट आएर उसको कम्पनीको मूल्य समेत धेरै घटेको थियो । आईपीओको मूल्य समान नै त्यसको मूल्य खसेपछि उसलाई राति निन्द्रा नलाग्नु स्वभाविक थियो । उ आफै भन्न थालेको थियो, "सरकारको नीति नै सेयर बजार र लगानीकर्तालाई दबाउने छ भने हाई सप्लाईवालामा लागेर सकिन्न ।" उसको चेत भर्खर खुल्न लागेको थियो । मध्य राति भएको हुँदो हो , उसले आफ्नो मिल्ने साथीलाई फोन लगायो । "म त निदाउँनै सकिन यार, एकदम उकुस मुकुस भयो ।" "के भयो ? sss अहिले एक गिलास चिसो पानी पिएर सुत,... भोलि कुरा गरौंला" साथी निन्द्रामा रहेछ भनेर उसले पनि लामो कुरा गर्न चाहेन र बडो कष्टसाथ निदायो ।
 
एक समय सेयर बजारका लगानीकर्ताहरुको आन्दोलन चलिरहेको थियो । त्यही बीचमा राजदरबारबाट आन्दोलनकारीलाई बोलावट भयो । वार्ता टोलीमा उ पनि पर्यो र टोली मन्त्रालय तर्फ गयो ।
 
आन्दोलनकारी लगानीकर्ता भन्दा पहिले नै केही भडुँवा लगानीकर्ताहरु वार्तामा पुगेर मन्त्रालयका अधिकारीहरुसँग चोचोमोचो मिलाईसकेका रहेछन् । लगानीकर्तामा स्वार्थ बाझिने भएकाले सरकार र नियमनकारी निकायहरुले यसैगरी खेल्ने गर्छन । त्यसरी लगानीकर्ताको आन्दोलनमाथि षडयन्त्र भएको कुरा उसलाई मन परेन र मन्त्रालयका अधिकारीहरुकै अगाडि कडकियो । लगानीकर्ताको नेतृ हुँ भन्दै पुगेकी उभद्रा कुमारीको त सातो नै लियो । उभद्रा कुमारीले आफुमाथि उसले भर्याड. मै दुर्ब्यवहार गरेको आरोप समेत लगाईन तर उसले नराम्रो त्यस्तो केही गरेको थिएन भन्ने सबैलाई थाहै थियो ।
 
सेयर बजार र लगानीकर्ताहरुको हालत भने दिनदिनै खराब हुँदै गएको थियो । सरकार विवेकसुन्य र अनिर्णयको बन्दी नै थियो । एक दिन उसलाई बैंकले तत्काल आउनु भनी बोलायो र ४० करोडको सेयरको लिलामी गरिदिने अन्तिम चेतावनी दियो । मार्जिन नपुगेको हुनाले उसले नौ महिनादेखि कर्जाको नविकरण गर्न सकेको थिएन, त्यसमाथि बैंकले दिएको अन्तिम चेतावनीले उसलाई मर्नु न बाँच्नु बनायो । धन्न एकजना प्रभावशाली लगानीकर्ताको प्रयासमा त्यसबाट तत्काल संकटमुक्त भए । तर केही दिनपछि फेरि संकट दोहोरिने निश्चित थियो ।
 
सेयरमा डुबेपछि अरुले खिसी त गरिहाल्छन् । घर परिवारकै किच्किच र तनाव पनि धेरै हुन्छ । त्यो उनलाई नहुने कुरै भएन । समझदार र ब्यवसायिक परिवार भएकाले अबस्थालाई सामान्यीकरण गर्न सहयोग पुगेको थियो ।
 
संकटहरु गहिरिदै जाँदा शिवजी सदा नामका एक लगानीकर्तासँग उनको लामो वार्तालाप भयो । शिवजी सदाले उनलाई आफ्नो लगानीको रणनीति र तरिका बदल्न सुझाव दिए । अधिक आपुर्ति हुने कम्पनी राम्रो भए पनि खेलाडी नलाग्ने, मूल्य थेग्न र उचाल्न ठूलो शक्ति लाग्ने भएकाले कम्पनी र लगानी रणनीति बदल्नुपर्नेमा जोड दिए । सरकारले पूँजी बजारको महत्व नबुझेको र सही तरिकाले लगानी गर्दा फसिने गरेकोले देश अनुसारको भेष भने जस्तै तरिका बदल्नु पर्ने सुझाव सदाले दिए ।
 
शिवजी सदाले भने- "सेयर बजार माग र आपुर्तिको आधारमा चल्ने हुँदा त्यसले लगानीकर्ताको मनोविज्ञान परिवर्तनमा ठूलो पार्छ । जहाँ हान्दा बढी उफ्रिन्छ, त्यही हान्नुपर्छ ।" उनले सोधे- "त्यसो भए कस्तालाई कहाँ हिर्काउने त ?" शिवजी सदाले फेरि भने -" तुलनात्मक रुपमा राम्रो तर बजारमा आपुर्ति एकदम कम रहेको जहाँ थोरै लगानीले पनि धेरै उथलपुथल ल्याउन सकिन्छ ।" शिवजी सदाको जोड थियो - "सरकार नै उल्टो बाटो हिडेपछि एक दुई जना लगानीकर्ताले मात्रै सही बाटो समाएर के हुन्छ, झन् पतन भईन्छ ।" उनी र शिवजी सदावीचमा सहमति भएपछि उनीहरु एक कप कालो चिया पिएर आ-आफ्नो घर लागे ।
 
लगानीकर्ताहरुको कठोर संघर्षका कारणले सरकारले पुँजी बजारमा लगानीकर्ता मैत्री नीति, नियम पुर्वाधार र प्रविधिमा सुधार गर्न तयार भयो । लगानीकर्तामा उत्साहको वातावरण सिर्जना भयो । सेयरको मूल्य बढ्न थाल्यो । प्रायः सबैले आफुहरु ठूलो संकटबाट मुक्त भएको अनुभुति गरे । त्यही मौकामा उनले आफ्नो ठूलो लगानी रहेको कम्पनीको सेयर घाटैमा बेचेर रणनीति बदल्दै लगानीका विकल्पहरु खोज्न थाले ।
 
समय वित्दै जाँदा उनले लगानीका रणनीतिहरु बदल्दै नयाँ प्रयोगहरु गर्दै गए । पहिलेका गल्तिहरु नदोहोर्याउने अठोट गर्दै "जहाँ हान्दा बढी उफ्रिन्छ, त्यही हान्ने" रणनीति अख्तियार गर्दै गए । लगानीकर्ता वीचमा उनले नयाँ - नयाँ चर्चा कमाउँदै गए । आफुलाई भेट्नेहरुलाई ऊनी भन्थे- "म त जुनलाई जहाँ हान्दा बढी उफ्रिन्छ त्यहीँ हान्ने हो ।"
 
एकादेशको सरकारको चाल उहि पुरानै थियो । दबाब, अभाव र प्रभाव विना केही पनि नगर्ने । कसैले राम्रो कुरा भन्यो उल्टो सुन्ने । आफुले गर्छु भनेर बाचा गरेका कामहरु पनि नगर्ने, लगानीकर्ताले सम्झाउँदा उल्टै दुस्मन ठान्ने प्रबृत्ति थियो, जुन अहिले पनि छ । सरकारकै राजश्व घट्दा, लगानीको वातावरण विग्रदा, कम्पनीहरुको आम्दानी कटौति हुँदा झनै खुशि मान्ने सरकार र निमायक भए पछि कसको के लाग्छ र ? सरकार र निमायकलाई सुधार्छु भन्दा नसकेपछि आफु सुध्रिनुको विकल्प पनि थिएन ।
 
यही बीचमा बुढानीलकण्ठेश्वर दरबारले सेयर बजार सुधार्ने भनी कमाल बाबालाई खोजेर ल्यायो र सबैै ताला साँचो बुझायो । ती बाबालाई अद्भुत चमत्कारी जस्ता पात्रको उपमा दिईयो । धेरैले कमाल बाबाको हाई हाई गरी साष्टाड.ग दण्डवत गरे । कतिपयले नजराना समेत बुझाएर कमाल बाबाको जय जयकार गरिरहे । अमृत देखाएर एकादेशवासीलाई डुबाउने षडयन्त्र गरेपछि लगानीकर्ता र कमाल बाबाबीचमा घमासान पर्यो । कतिपयले आफ्नो पिता परमेश्वर नै ठाने र अलप हुनुभन्दा अगाडि पनि पाउ परिरहेका थिए । कमाल बाबाले नजराना बुझेकाहरुलाई खुशी पार्दा सेयर बजारलाई उठ्नै मुस्किल हुने गरी थला पारेर अन्तिममा अलप भए, लाखौं एकादेशवासी लगानीकर्ताहरुको बेहाल भयो ।
 
यही बेहालका वीचमा उनी भने अहिले पनि भन्दैछन् "जहाँ हान्दा बढी उफ्रिन्छ, त्यहीँ हान्ने हो । नत्र फसिन्छ । " यो उनको भोगाई बोलेको हुनुपर्छ । सरकार नै उल्टो बाटो हिडेको छ भने के भन्ने ? यो कथा पढ्ने धेरैले अहिलेको अवस्थाबाट आक्रान्त भएर प्रश्न गर्न सक्छन् -"सुमेरु पर्वत उचाल्ने र हनुमानको बज्र बोक्ने शक्ति कोसँग छ र कहिले आउँछ ? जसले हान्दा सेयर बजार लामो फड्कोका साथ मज्जाले उफ्रियोस । सबैले तत्काल आफ्नो उद्धार भएको अनुभुति गरुन् ।"
 
ईति कथा समाप्तम् . सुनेर बुझ्नेलाई बुलको माला !!!
 
#यो कथा शेयर बजारमा घटेको सत्य घटना हो तर पात्रको नाम नक्कली हो । कसैको वास्तविक जीवनमा मेल खाएमा संयोग मात्रै हुनेछ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।