काठमाण्डौ । सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ६४) र पोखरा विश्वविद्यालय अन्तरगतको स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्स पोखरा बीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनका लागि एक सम्झौता भएको छ ।
सम्झौता आज बुधबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो । Sun Knowledge Partnership कार्यक्रम अन्तरगत भएको यस सम्झौतामा सन सेक्युरिटिज प्रा.लि.ले पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेस संकाय अन्तरगत अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी शेयर बजार र यसका विभिन्न पक्षहरुसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ । यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरुका साथै धितोपत्रको दोश्रो बजार अन्तरगत गरिने कारोबार तथा लगानी सँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरु प्रदान गर्नेछ ।
यस सम्झौता अन्तरगत पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेश संकायका विद्यार्थी तथा शिक्षक एवं कर्मचारीहरुलाई सन सेक्युरिटिज प्रा.लि.ले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरुलाई आवश्यक हुने डिम्याट खाता, मेरो शेयर निशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ ।
पोखरा विश्व विद्यालय फयाकल्टि अफ म्यानेजमेन्ट स्टडिजका डिन डा. दयाराज ढकालको समुपस्थितिमा सम्पन्न कार्यक्रममा पोखरा विश्वविद्यालय स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्सका तर्फबाट अध्यक्ष स्वस्तिका क्षेत्रीले हस्ताक्षर गर्नुभएको थियो भने सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौता कार्यक्रमसँगै सन सेक्युरिटिज प्रा.लि.ले पोखरा विश्वविद्यालयका स्कुल अफ विजनेश संकाय अन्तरगत बिबिए र बिबिएबिआईका विद्यार्थीहरुलाई पोखरा विश्वविद्यालयमा आज १ दिने वित्तीय साक्षरता तथा शेयर सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको आयोजना पोखरा विश्वविद्यालय स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्सले आयोजना गरेको थियो भने प्राविधिक सहयोग तथा तालिम प्रशिक्षक व्यवस्थापन सन सेक्युरिटिज प्रा.लि.ले गरेको थियो ।
कार्यक्रम अन्तरगत सन सेक्युरिटिज प्रा.लि.का कार्यकारी अध्यक्ष कृष्ण गिरी, प्राविधिक विश्लेषक शुशिल भट्टराई तथा सैयम बज्राचार्यले तालिम प्रदान गर्नुभएको थियो । उक्त तालिममा शेयर बजारको वर्तमान अवस्था, शेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा बिबिए तथा बिबिएबिआईमा अध्ययनरत करिब ७० जना विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा प्रमुख आतिथ्यता पोखरा विश्वविद्यालय फ्याकल्टि अफ म्यानेजमेन्ट स्टडिजका डिन डा. दयाराज ढकालले गर्नुभएको थियो ।