कठमाण्डौ । ७० दशक नेपाली अर्थतन्त्रका लागि खासै सुखद रहेन ।भूकम्प(महाविपत्ति),नाकाबन्दी,कोभिड,मन्दी लगायतका कारण अर्थतन्त्र निकै धर्मरायो । त्यसमाथि हालसम्म जारी युक्रेन र रुसको द्वन्द्वले त झन् मर्माहत नै तुलाइरहयो । हालको अर्थतन्त्र पनि भूकम्प पछाडिकै जस्तै अवस्थामा रहेको छ ।
पछिल्लो बाह्य क्षेत्र सन्तुलित हुँदै गइरहेको दाबीका बीच नेपालको समग्र अर्थतन्त्र सन्तुलित बन्न सकिरहेको छैन । हिजोका दिनमा ग्रोथलाई रोक्न ब्याजदर बढाइयो जसको प्रभावले अर्थतन्त्रको खाडल ठूलो हुँदै गइरहेको छ । ग्रोथलाई रोकेसँगै सर्वसाधारणको आम्दानीमा भने भूःक्षय नै गइरहेको वर्तमान अवस्था हो । स्थिर आय,आम्दानी र बचतमा परेको नकारात्मक प्रभावले वैदेशिक पलायनलाई बढावा दिइरहेको छ ।
देशमा अहिलेसम्मको वस्तुस्थिति र धरातल आयातामा आधारित व्यवसाय मात्रै हुनु पनि अर्को बिडम्बना हो । उत्पादनमुखी व्यवसायभन्दा पनि ट्रेडिङ्गमुखी व्यवसायको हालीमुहाली छ ।
सञ्चितिबाट मात्रै उपभोग भइरहेको नेपाली अर्थतन्त्रमा उत्पादनबाट उपभोग भइरहेको छैन जसका कारण भुक्तानी सन्तुलनसमेत प्रभावित हुन पुग्दछ । क्षमता र कार्यशील पूँजीका आधारमा उत्पादनमुलक क्षेत्रमा लगानीले प्राथमिकता पाएको खण्डमा समग्र अर्थतन्त्रलाई सकारात्मक दिशामा डोहोर्याउन सघाउ पुग्दथ्यो तर त्ससतर्फ भने राज्य अलमलकै अवस्थामा रहेको प्रष्टै छ ।
बैंक तथा वित्तीय अवस्था अर्थतन्त्रको महत्वपूर्ण सहयात्री हुन् । पछिल्लो समय बैंकले समेत प्रतिफल दिन नसक्नु र धितोलिलामसमेत बिक्री नहुँदा धराशयी हुँदै गइरहेको छ । बैंकमा बढिरहेको डिफल्ट प्राविधिक हो तर वास्तविक होइन भनेर बुझाउन नेपाल राष्ट्र बैंक अग्रसर छैन । रिभाईभका लागि राष्ट्र बैंकले जतिसक्दो छिटो निर्णायक भूमिका खेल्नुपर्छ । विशेष नीतिबाट बैंकलाई जोगाउन अत्यावश्यक भइसकेको छ । राष्ट्र बैंकले विशेष नीतिबाट बैंकलाई धराशयी हुनबाट जोगाउनपर्छ ।
बजारमा हाल क्रेडिट डिमाण्ड र क्रेडिट क्रिएसन नभइरहेको अवस्था छ । जसका कारण समग्र अर्थतन्त्र सुस्त भइरहेको देखिन्छ । क्यापिटल एडेक्वेसी रेसियो सहज अवस्थामा नआएसम्म बैंकहरुले कर्जा सजिलै नदिन सक्छ ।
सर्वसाधारणबाट कर्जाको माग नभए तापनि यही बेला सरकार स्वयंले भने यथेष्ट कर्जाको माग गरी दीर्घकालीन लगानी गर्ने सुअवसर हो । बैंकसँग थुप्रिएको अधिक तरलता नेपाल सरकारले लिनसक्छ । सस्तो मूल्यमा बैंकमा थुप्रिएको पैसा सरकारले विकास निर्माणमा लगाएर अर्थतन्त्र थप चलायमान बनाउन पहलकदमी गर्ने बेला हो । बैंकमा थुप्रिएको पैसा सर्वसाधारणको हातमा परे फेरि गैर उत्पादनशील क्षेत्रमा लगानी फ्रिज हुनसक्ने सम्भावना पनि बढ्छ । सर्वसाधारणले व्यवसायिक गतिविधि गर्ने हिम्मत नगरे सरकार स्वयं व्यवसायमा होमिदासमेत आर्थिक गतिविधि बढ्थ्यो ।
शेयर बजार
अर्थतन्त्रको ऐनाका रुपमा हेरिने शेयर बजारमा उमङ्ग छैन । केही नयाँ कम्पनीका शेयर दोस्रो बजारमा चलायमान भएपनि पुराना स्टकहरु चलायमान नभइरहेको अवस्था छ । नेप्से परिसूचक २ हजार विन्दू आसपास नै भएको पनि निकै लामो समय भइसक्यो । नेप्से परिसूचक १००–२०० अंक उत्तेजित हुने अनि पुनः स्खलित भइहाल्ने ट्रेण्डकै बीच २ हजार विन्दू आसपास नै रुमल्लिरहेको देखिन्छ । कारोबार रकममा समेत स्खलित हुने थप अर्को समस्या हो । विगत लामो समयदेखि बजार वियरिस ट्रेण्डमै छ । यो प्रिबुलको अवस्थामा लगानीकर्ताहरुलाई बजारले पटक–पटक झुक्याइरहेको छ । अधैर्य र धैर्य लगानीकर्ताको परीक्षा बजारले निक्कै मज्जाले लिइरहेको छ । यद्यपि अवस्था सधैं यस्तो रहँदैन । वियरिस पछि बुलिस र बुलिस पछि वियरिस ट्रेण्डमा चक्रानुसार बजारले आफ्नो भूमिका इमानदारिताका साथ निभाइरहेको छ । प्रि–बुलको चरणबाट हाल गुज्रिरहेको शेयर बजार आगामी बुल रनको यात्रा अन्त भने परिसूचकले हालको विन्दूबाट १०० देखि १२० प्रतिशतसम्मको बढाईतर्फ उन्मुख छ । अर्थात् निकट समयको बुल रनको अन्त्य नेप्से परिसूचक ४ हजार देखि ४४ सय विन्दूको उचार्ई चुम्ने र कारोबार रकम ५० अर्ब रुपैयाँ हाराहारी आशा गर्न सकिन्छ ।
शेयर बजारमा आत्तिने र मात्तिने दुवै अवस्था हुन्छ । धैर्यवान र अनुशासितलार्इृ शेयर बजारले आशा गरेभन्दा धेरै पैसा पनि दिन्छ तर टिक्न र खप्न सक्नेलाई मात्रै । प्रि–बुलको यो चक्रमा अहिले लगानीकर्ताहरुको आत्मविश्वासको परीक्षा चलिरहेको छ । बजारले आत्मविश्वास प्राप्त गरिरहेको पछिल्लो अवस्थामा अर्थतन्त्र रिभाईभ नहुन्जेलसम्म शेयर बजारले ग्रीन सिग्नल दिइरहेको छैन । कुनै न कुनै सेक्टरले अर्थतन्त्रलाई लिड गर्नैपर्छ ।
सेबोन अध्यक्ष नियुक्ति नभइसक्नु , बैंकिङ्ग सुरक्षित जोनमा नआउनु पनि शेयर बजारको अर्को चूनौती हामीसामु छ । बैंकिङ्ग क्षेत्रमा साँच्चिकै कैफियत देखिएको भए नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्न खुट्टा कमाउन हुँदैन । बैंकिङ्ग क्षेत्रमा देखिएको अविश्वास र अन्यौलता पनि न्यूनतम २ वर्षभित्र हल होला भन्ने आशा गर्न सकिन्छ । शेयर बजार उकास्न अर्थमन्त्रालयको प्रत्यक्ष तथा अप्रत्यक्ष भूमिका छ । नेपाल राष्ट्र बैंकले शेयर बजारमैत्री नीति कार्यान्वयनमा ल्याएको खण्डमा शेयर बजार सुधार सम्भव छ । यता शेयर बजारमा पनि लगानीकर्ताहरुको आत्मविश्वास विगत १ वर्षदेखि प्राप्त गर्ने कोशिसमा छ । यसअघि २०७२ सालको बुल आउनु ६ वर्षअघि बैंकिङ्ग क्षेत्र अहिलेको जस्तै भएको थियो ।
राजनीति ,अर्थतन्त्र र शेयर बजारबीच अन्योन्याश्रित सम्बन्ध छ । राजनीतिक कोर्स अहिले परिवर्तन भएको छ । नेपाली कांग्रेससँगको गठबन्धन टुटाउँदै नेकपा माओवादी केन्द्रले सत्ता सहकार्यमा नेकपा एमालेलाई प्रवेश गराएसँगै आज नै नेप्से परिसूचकले सानो टिजर देखाइनै सकेको अवस्था छ ।