काठमाण्डौ । सुनको मूल्य पछिल्ला दिनहरुमा बढेको बढ्यै छ । बुधबार मात्रै पनि सुनको मूल्य तोलाकै रु.१ लाख २३ हजार ५०० पुगेर सर्वाधिक उचाई चुम्यो । यता धितोपत्र बजारमा पनि सोना अर्थात् सोना मिनरल्स एण्ड ओयल लिमिटेडको शेयरमूल्य पछिल्लो दिनमा बढेको बढ्यै छ ।
दिनानुदिन सुनको मूल्यले जसरी ऐतिहासिक रेकर्ड राख्दैछ त्यसैगरी दोस्रो बजारमा पनि सोना अर्थात् सोना मिनरल्स एण्ड ओयल लिमिटेडको शेयरमूल्य उचालिइरहेको छ । धितोपत्र बजारमा सोनाको मात्रै नभई उस्तै प्रकृतिका कम्पनीहरु क्रमशः शिवम र घोराई सिमेन्टको समेत शेयरमूल्यमा बढोत्तरी आइरहेको छ ।
गत सोमबार सोनाको शेयर प्रतिकित्ता रु.४०८ मा भएको थियो तर मंगलबार र बुधबार भने शेयरमूल्य क्रमशः रु.४५२ र रु.५१४ मा भयो । यसरी हेर्दा २ दिनमै सोनाको शेयरमूल्य प्रतिकित्ता रु.१०६ वृद्धि भयो । हिजो बुधबार कारोबार रकम र शेयर संख्या हेर्दा पनि सोनाकै सर्वाधिक शेयर किनबेच भयो ।
यसैबीच शिवम् सिमेन्टको गत मंगलबार प्रतिकित्ता रु. ४६३.९० रहेकोमा मंगलबार रु. ४७२ र हिजो बुधबार रु.५१३.२० मा कारोबार बन्द हुन पुग्यो । शिवमको पनि २ दिनमै शेयरमूल्य प्रतिकित्ता रु.४९.५ बढिसकेको छ ।
त्यसैगरी घोराई सिमेन्टको शेयरमूल्य गत सोमबार प्रतिकित्ता रु.४५५ रहेकोमा गत मंगलबार रु.४८८ र हिजो बुधबार रु.५४४.९० मा अन्तिम कारोबार मूल्य कायम भयो । यसरी हेर्दा घोराहीको पनि प्रतिकित्ता रु. ८९.९ शेयरमूल्य वृद्धि भइसकेको अवस्था छ ।
आखिर किन लगातार बढ्दैछ ३ कम्पनीहरुको शेयरमूल्य ?
बुक बिल्डिङ्गमार्फत् सर्वसाधारणलाई निष्काशन भएको सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड शुक्रबार हुने भएको ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । सर्वसाधारणले न्यूनतम ५० कित्ता हाता पार्ने यो कम्पनीको शेयर नै प्राथमिक बजारमा प्रतिकित्ता रु.३६०.९० मा आवेदन परेको छ ।
यता नेप्सेले सर्वोत्तम सिमेन्टको सुरुवाती शेयरमूल्य कति तोक्ने भन्ने अझै निश्चित भइसकेको छैन । यदि पुरानै नियमानुसार हो भने न्यूनतम रु.१८५.३६ देखि ५५६.०८ तोक्नेछ । उसो त सर्वसाधारणले खरिद गरेको मूल्य प्रतिकित्ता रु.३६०.९० नै कायम पनि हुन सक्ने नेप्सेका एक अधिकारीले जानकारी दिए । अधिकतम मूल्य नै साढे ५ सय रुपैयाँ भयो भने सर्वोत्तमसँगै अन्य सिमेन्ट कम्पनीहरुको शेयरमूल्य लगानीकर्ताले दाँज्ने हुनाले केही स्मार्ट लगानीकर्ताहरुले केही दिनयता चलखेल गर्दै मूल्य उचालिएको हो ।
म्युचुअल फण्डहरुले कोटामार्फत् पाएको शेयर समेत ६ महिना लकइन हुने व्यवस्था अनुरुप बजारमा आपूर्ति कम हुने र माग बढी हुनाले सर्वोत्तमको मूल्य बढ्ने आशमा अन्य कम्पनीहरुको शेयरमा आकर्षण बढेको हो ।
यसैगरी पछिल्लो ट्रेण्डानुसार नयाँ कम्पनीहरु नेप्सेमा सूचीकृत भएपछि दोस्रो बजारमा प्रतिकित्ता रु. १ हजारमा शेयर किनबेच हुने आशामा समेत सोना,शिवम र घोराहीको मूल्य दिनदिनै बढेको हो ।
दोस्रो बजारमा सक्रिय रहेका लगानीकर्ता सुन्दर पाण्डे अहिले लगानी गर्न अनिर्णयको अवस्थामा नेप्से परिसूचक कता जाने भन्ने अन्यौल रहेकाले समेत ती कम्पनीहरुलाई केही माथि उचालेर चलखेल गर्न खोजिएको दाबी गर्छन् । सर्वोत्तम सिमेन्टकै कारण चलखेल गराउन तीनै कम्पनीको भाउ बढेको उनको तर्क छ । बुक बिल्डिङ्गलाई स्थायीत्व दिने नियत भएकाले केही दिनयता सिमेन्टहरुको भाउ रु. ६ सय माथि पुर्याउने चलखेल भइरहेको उनको जिकिर छ ।