लोभले लाभ, लाभले विलाप : ‘लो क्याप’ कम्पनीको शेयरमा फस्दै लगानीकर्ता

अर्थबिट २०८१-०७-२९ ०१:०६:०० बजे

काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेड(रावा) का लगानीकर्ताहरुलाई धमाकेदार झट्का लागेको छ । उक्त कम्पनीको शेयरमूल्य रु.९३ घटे तापनि उक्त कम्पनीको शेयर खरिदको माग शून्य भएको छ । 

यो समाचार तयार पार्दासम्म रावा इनर्जी डेभलपमेन्ट लिमिटेड(रावा) को शेयरमूल्यमा नेगेटिभ सर्किट अर्थात् १० प्रतिशत शेयरमूल्य घट्दासमेत सो शेयर खरिद गर्ने लगानीकर्ताको माग शून्य भएको हो । 

शेयर कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार रावाको सुरुवाती मूल्य रु. ९५०.६० रहेकोमा १० प्रतिशतले गिरावट आउँदा हाल रु. ८३८.८० रहेको देखिन्छ । नेप्सेका अनुसार उक्त कम्पनीको हाल आपूर्ति ५४ हजार ९५५ कित्ता रहेकोमा माग भने शून्य रहेको छ ।  

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको कुल बजार पूँजीकरण रु. २ अर्ब ६० करोड हाराहारी रहेको छ । कुल २८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको यो कम्पनीद्वारा प्रकाशित यस आवको प्रथम त्रैमासिक वित्तीय विवरणानुसार नेटवर्थ प्रति शेयर रु.७२ छ भने ईपीएस केबल रु.१.४३ रहेको नेप्सेले जनाएको छ । कम्पनीको वित्तीय विवरणकै असरका कारण लगानीकर्ताहरु उक्त कम्पनीको शेयर खरिद गर्न अनिच्छुक देखिएको बुझिएको छ । 

कम्पनीले गत वर्षको जेठमा ३० प्रतिशत अर्थात् जारी पूँजीको ३० प्रतिशत अर्थात् ८ लाख ४० हजार कित्ता शेयर मात्र सर्वसाधारणका लागि निष्काशन गरेको थियो । हाल धितोपत्रको दोस्रो बजारमा ‘लो क्याप’ भएका धितोपत्रहरु केही संख्यामा मिलेर ग्रूप बनाउने र सोही ग्रूपले बजारको आपूर्ति खरिद गरी आफू अनुकूल बजारमूल्य उच्च बनाउने ट्रेण्ड नै रहेको छ । कम पूँजी भएका कम्पनीको शेयर कार्टेलिङ्ग गरी शेयरमूल्य अचाक्ली बढाउने प्रवृत्ति समेत हावी हुँदै गइरहेको देखिन्छ । जसको ज्वलन्त उदाहरण रावा इनर्जी डेभलपमेन्ट लिमिटेडलाई समेत मान्न सकिन्छ । यद्यपि आज नेगेटिभ सर्किट लागेको यो कम्पनीको शेयर आगामी दिनमा समेत विभिन्न चलख्याईँ गरी मूल्य नबढाउलान् भन्न सकिन्न ।

नेपाली उखान नै छ–लोभले लाभ, लाभले विलाप। यसको अर्थ हो मान्छे लोभी हुन्छ र धेरै लोभ गर्दा त्यही लाभ भइसकेको पनि भूईमा खस्ने खतरा रहन्छ । सोही अनुसार छिट्टै धनी हुने उच्च महत्वकांक्षाका साथ शेयर बजारमा कम पूँजी भएका कम्पनी कम आपूर्ति हुने र शेयरमूल्य रातारात बढ्ने सपनामा ओइराइएको पैसा घाटामा जाँदा भने कयौं लगानीकर्ताहरु सामाजिक सञ्जालमा विलाप गरिरहेका भेटिन्छन् ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।