बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध मुद्दा दायर

अर्थबिट २०८१-०८-२४ ०५:५६:०० बजे

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । झुटा विवरण पेस गरी लाभ लिएको आरोपमा सिलवालविरुद्ध मुद्दा दायर गरिएको हो ।

सिलवालले नागरिकतामा पटक–पटक जन्ममिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्ष उमेर हदबाट अनिवार्य अवकाश हुनुपर्नेमा सिलवालले विसं २०८० साल साउन १६ गतेदेखि ६६औँ वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल नै रही पछिल्लो नौ महिनादेखि पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरेको जनाइएको छ ।

सिलवालको जिल्ला प्रशासन कार्यालय पर्साबाट विसं २०३२ साल फागुन २४ गतेको नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख भएको तर जिल्ला प्रशासन कार्यालय काठमाडौँवाट नेपाली नागरिकताको प्रतिलिपि २०६६ साल वैशाख १७ गते जारी नागरिकतामा जन्ममिति २०१६ कात्तिक २२ उल्लेख भएको जनाइएको छ । 

यस्तै, त्रिभुवन विश्वविद्यालयबाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्ममिति २०१५ साल साउन १५ उल्लेख भएको अख्तियारद्वारा दायर भएको आरोपपत्रमा उल्लेख छ । सिलवाल स्वयंले भरेको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) मा समेत ट्रान्सक्रिप्टको जन्ममिति २०१५ साल साउन १५ उल्लेख गरी विवरणभरि निजामती सेवामा २०४३ साउन १ गतेदेखि राजपत्राङ्कित तृतीय श्रेणीको पदमा नियुक्ति लिएको पनि अख्तियारले जनाएको छ ।

यसरी झुटा विवरण पेस गरी लाभ लिएको कसुरमा भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाहीको माग गरिएको छ । यस्तै, सिलवालले २०८० साउन १५ गतेदेखि हालसम्म लिएको लाभ सुविधा रकम बराबरको रु ३६ लाख ६२ हजार एक सय ५४ बराबर असुलउपर मागदाबी गरिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।