तपाईंलाई शेयर बजारमा सफल बनाउने यी ४ कुरा, जुन हामीसँग भएनन्

अर्थबिट २०८१-०८-२५ ११:५९:०० बजे

काठमाण्डौ । नेपालको शेयर बजारमा पनि पछिल्लो समय लाखौं लगानीकर्ताहरु सक्रिय छन् । विभिन्न क्षेत्रका व्यक्तिहरुले गरेको आम्दानीका केही हिस्सा बचत रकमलाई धितोपत्रको दोस्रो बजारमा लगानी गरिरहेका भेटिन्छन् । सबै व्यक्ति शेयर बजारमा पैसा कमाउने उद्देश्यले नै ठूलो जोखिम लिइरहेका हुन्छन् । नचाहँदा नचाहदैं पनि शेयर बजारमा घाटा पनि व्यहोर्नु पर्दछ । नाफा कमाउन आउनेले घाटा पनि व्यहोर्नुपर्ने हुन्छ । यद्यपि शेयर बजारमा घाटा कम गर्दै नाफा आर्जन कसरी गर्ने भन्ने विषयमा हामीले केही टिप्सहरु दिन गइरहेका छौँ । 

शेयर बजार प्रभावित हुने कयौं तत्वहरु रहेका छन् । जसमध्येको एक मनोविज्ञान समेत मानिन्छ । ट्रेडिङ मनोविज्ञान सही कायम गर्न सकेको खण्डमा शेयर बजारबाट मालामाल हुने सम्भावना पनि रहन्छ । 

 

१. लोभ नगर्नुस : धितोपत्र किनबेच गर्दा नाफा निश्चित गर्नुस् । कुनै पनि कम्पनीको शेयरमा तपाईंले लिनुभएको लक्ष्य अनुसारको नाफा प्राप्त गर्नु भयो भने तुरुन्तै बेच्नुस् । बेचिसकेपछि शेयरको भाउ अझै माथि पुगेपनि लोभ नगर्नुस् । सम्झनुस् कि तपाईंले बेच्नुभएको र सोही शेयर किनेको व्यक्तिले पनि कमाओस् भन्ने सदिक्षा राख्नुहोस् । यो नियम आफैं बनाउनुहोस् र अनिवार्य रुपमा अनुशासित भई पालना गर्नुहोस् । 

 

२. डर नराख्नुस : धितोपत्रको दोस्रो बजार अत्यन्तै जोखिमको क्षेत्र हो । श्रम गर्न जति कठिन छ त्यो भन्दा धेरै शेयर बजारबाट थोरै नाफा कमाउन पनि धेरैभन्दा धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । शेयर बजारमा जोखिम भएकै कारण घाटा भयो भने जोखिम उठाउने हिम्मत प्रायः आउँदैन । सोही कारण लगानीकर्तामाथि डर हावी हुने गर्दछ । तर डरलाई काबुमा राख्दै सम्भावनाहरुको बारेमा सोच्नु भयो भने तपाईंले शेयर बजारबाटै मनग्यै पैसा कमाउन सक्नुहुनेछ । डरमाथि हावी हुँदै तपाईंले विवेकपूर्ण ढंगले शेयरमा नाफा कमाउने सम्भावनाका बाटो समाउन सक्नु भयो भने तपाईं अवस्य पनि सफल हुनु्हुनेछ ।

 

३. चिन्ता नगर्नुस् : शेयर बजारमा सबै पैसा कमाउनैका लागि आएका हुन्छन् । घाटा त कसले पो सोचेको हुन्छ र । यद्यपि बजार परिसूचक ओरालो लाग्दा र खरिद गरेको शेयरको भाउ घटन् थाल्दा भने लगानीकर्तामाथि चिन्ता हावी हुनु् स्वभाविक हुन्छ । शेयर बजारको घटबढले तपाईं चिन्ताग्रस्त भएर बस्नुहुन्छ कि अन्य उपायहरुको पनि खोजी गर्नुहुन्छ । शेयर कारोबारलाई मात्रै आम्दानीको मुख्य स्रोत नबनाउनुस । अन्य सेक्टर वा विविध वित्तीय क्षेत्रमा पनि लगानी गर्नुहोस् ताकि शेयर बजारमा भएको घाटा अन्य सेक्टरबाट भएको लगानीको प्रतिफल पनि परिपूर्ति हुन्छ । नेपालमा वित्तीय क्षेत्रमा लगानीका धेरै विकल्पहरु छन् । घरजग्गा, सुनचाँदी,मुद्दती निक्षेपजस्ता क्षेत्रमा लगानी गर्न सक्नुहुन्छ । विकल्पहरुमध्ये सहज,सुरक्षित र आकर्षक प्रतिफल दिने उपकणहरुमा लगानी गर्नुहोस् ताकि जोखिम घट्न गई तपाईं चिन्तामुक्त हुन सघाउ पुगोस् । 

 

४. क्रोध नगर्नुस् : क्रोध पनि मानवीय स्वभावभित्रै पर्दछ । क्रोधित मनोविज्ञानले ग्रस्त भएमा तपाईं स्वयं डिस्टर्ब भएको महशुस गर्नुहुनेछ । क्रोधलाई छिचोल्दै तपार्ईं अर्को अर्को अवसरलाई छोप्न तम्तयार रहनुपर्छ । शेयरबजार स्थिर हुनै सक्दैन । यो त तीव्र उत्तारचढाव हुने क्षेत्र हो । जसमा सरकार,नियामक निकाय,बजार सञ्चालक,ब्रोकर,मिडिया, अर्थतन्त्र,कम्पनी लगायतका कारणले शेयर बजार प्रायः उत्तारचढाव हुने गर्दछ । हामी नेपाली लगानीकर्ताहरु छिट्टो आवेगमा आई क्रोधित हुने गर्दछौँ । वित्तीय साक्षरताको कमी भन्ने कि जानाजान हामी बजार सधैं उकालो मात्रै लागोस् अनि कम्पनीको शेयर भाउ माथि मात्रै उक्लियोस् भन्ने चाहन्छौं । तर यथार्थमा बजार विभिन्न फ्याक्टरले तलमाथि भइरहन्छ । बजार गिरावट हुँदा शेयरको भाउ घट्यो भनेर क्रोधित हुनुभन्दा घटेको बजारमा आगामी दिनमा शेयरमूल्य बढ्नसक्ने कम्पनीहरुको शेयर खरिद गरी अर्को अवसर छोप्नका लागि अग्रसर हुनुपर्दछ । 

तपाईंलाई शेयर बजारमा सफल बनाउने यी ४ कुरा जुन हामीसँग भएनन् जसलाई पालना नगरेकै कारण घाटा त बेहोर्नु परेको होइन् ? समीक्षा गर्नुहोला । अतः तपाईं स्वयंका भावनाहरुलाई अनुशासित बनाउँदै उपर्युक्त ४ उपायहरु अपनाउन सक्नुभयो भने शेयर बजारबाट पैसा कमाउन सक्ने आधारहरु खडा गर्दै जानुहुनेछ भन्ने आशा छ ।

#हामीले दिएका सुझावहरु हजुरलाई कस्तो लाग्यो?,सल्लाह तथा सुझावका लागि कमेन्ट गर्नुहोस् । टिप्स मन परेमा हजुरको फेसबुक टाइमलाईनमा सेयर गरेर सुरक्षित राख्नुहोस् । यस्तै टिप्सका लागि हाम्रो फेसबुक पेज लाइक तथा फलो पनि गर्नुहोस् है । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।