यसकारण ट्रेडरसँग कहिल्यै विवाह नगर्नुस् !

अर्थबिट २०८१-०८-३० ०१:२५:०० बजे

काठमाण्डौ । धितोपत्र बजारमा पूर्ण अनलाइन कारोबार प्रणालीको सहजतासँगै लगानीकर्ताहरुको संख्यासमेत २० लाख नाघिसकेको छ । धितोपत्रको दोस्रो बजारमा अनलाइन कारोबार प्रणालीकै कारण इन्भेष्टरभन्दा ट्रेडर (अल्पकालीन शेयर कारोबारी)  हावी भइरहेका छन् ।

शेयर बजार आफैंमा अनिश्चितताको बजार हो । शेयर बजारमा उच्च जोखिम लिन पछिल्लो समय युवा वर्गका ट्रेडरहरुको संख्या पनि निक्कै लोभलाग्दो छ । कोही हजारबाट त कोही लाखबाट सुरु गर्ने युवाहरुले छोटो समयमा शेयर बजारबाटै हैसियत तथा जीवनशैली बदलेको भेटिन्छ । शेयर कारोबारबाटै गाडी,घरजग्गा जोड्ने सामान्य बनिसकेको शेयर बजारको अर्को सकारात्मक पाटो हो । शेयर कारोबारबाट मनग्यै पैसा कमाएका ट्रेडरहरु हप्तैपिच्छे महँगा रिसार्ट तथा विदेश भ्रमण सामान्यजस्तै भएको छ । 

ट्रेडरले जिउने विलासी जीवनयापन उसको अथक तथा कडा मिहिनेतको प्रतिफल पनि हो । ट्रेडरको जीवन बाहिरबाट हेर्दा जति शानदार देखिन्छ तर भित्रभित्रै ऊ ठूलो जोखिम तथा चूनौतिहरुसँग मुकाबिलासमेत गरिरहेको हुन्छ । शेयर बजार भावनासँग जोडिएको क्षेत्र पनि हो । ट्रेडरको मनोभावनाले समेत बजार प्रभावित हुनेगर्दछ । यसैबीच विवाह पनि दुई पवित्र आत्माको मिलन अर्थात् २ विपरीत व्यक्तिको भावनाहरुको सम्मिश्रण हो । पैसा बिना मायाले मात्रै पनि संसार चल्दैन । ट्रेडरको दिमागमा २४ सै घण्टा बजार र पैसा मात्र खेलिरहेको हुन्छ  । यदि तपाईं ट्रेडरसँग विवाह गर्न चाहनुहन्छ भने उसको कामलाई समेत साथ दिनुभयो भने मात्रै वैवाहिक जीवन सफल हुन्छ । ट्रेडरहरु भावनात्मक हुन्छन् । डर,लोभ,आशा र अतिआत्मविश्वासजस्ता भावनाहरुसँग खेल्ने उसको जीवनमा आउने उत्तारचढावमा पनि तपाईंको साथ र मायाको जरुरत पर्दछ । यदि कठिन परिस्थितिसँग ट्रेडर जुधिरहेका बेला साथ दिन सक्नुहुन्न भने चाहिँ ट्रेडरसँग लगन गाँठो नबाँध्नुस् । 

ट्रेडरले जीवनमा धेरै चूनौतीहरुसँग सामना गर्नुपर्ने हुन्छ । उसको जीवनमा धेरै उत्तारचढाव आउने गर्दछ । ‘अप र डाउन’ को शृङ्खलामा ट्रेडरको जीवन रुमल्लिरहेको हुन्छ । यस्तो परिस्थितिमा ट्रेडरलाई तपाईंको साथ जरुरत पर्दछ । कुनै समय यस्तो पनि आउनेछ, जुन बेला तपाईंको हुनेवाला पति अर्थात् ट्रेडरसँग पैसैपैसा हुनेछ । र यस्तो पनि समय आउनेछ, जुनबेला तपाईंको पति अर्थात् ट्रेडरको उसको बैंक खाता नै रित्तो हुने अवस्था पनि आउँछ । हो त्यहीबेला तपाईं के गर्नुहुन्छ ? तपाईं उसँगै बस्न सक्नुहुन्छ वा उसलाई साथ दिनसक्नुहुन्छ ? किनकि ट्रेडर्सको जिन्दगी चूनौतिहरुको पहाड हुने गर्दछ । हरेक दिन ट्रेडरमा इमोशनल ब्रेकडाउन हुन्छ, हरेक दिन जोखिम तथा चूनौति सामना गर्नुपर्छ । साथै भावनाहरु कसरी नियन्त्रण गर्ने, सो कुराबाट पनि धेरै तनाव झेलिरहेको हुन्छ । डर,लोभ,आशा र अतिआत्मविश्वाससँग ट्रेडर लडिरहेको त हुन्छ नै भावनाहरुबाट जब उसले ब्रेक डाउन भएको महशुस गर्दछ,तब तपाईंसँगको सम्बन्धमा पनि दरार आउनसक्छ ।  

ट्रेडरले उपर्युक्त चूनौतिहरुसँग सामना गरिरहेका बेला भनौं वा हरेक उत्तारचढावमा बराबरी हिस्सा लिई सँगसँगै लड्नका लागि तयार हुनुहुन्छ भने मात्रै तपाईं ट्रेडरसँग विवाह गर्नुहोस् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।