“शेयर बजार धैर्यता र समय दिएर असीमित पैसा कमाउने सेक्टर हो”- पायोनियर ब्रोकर मुन्दडाको अन्तर्वार्ता

अर्थबिट २०८१-१०-०२ १०:५४:०० बजे
तस्वीर:मनोज बाबू

काठमाण्डौ । स्टक ब्रोकर्स एशोसिएसनका पूर्व अध्यक्ष नन्द किशोर मुन्दडा धितोपत्र बजारमा अनुशासित र पायोनियर ब्रोकरका रुपमा सुपरिचित छन् । नियामक निकायका अधिकारीहरु समेत उनलाई ‘जेन्युन’ ब्रोकरका चिन्दछन् भने लगानीकर्ताहरुको आँखामा त झन् शेयर बजारकै हस्तीका रुपमा बुझेका छन् । आ.व.२०७०–७१ र आ.व.२०७८–७९ गरी २ पटक श्रीकृष्ण सेक्युरिटीज लि.ले सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजश्व कार्यालय बत्तीसपुतलीले समेत सम्मान गरिसकेको छ । काठमाण्डौ चारखाल रोडमा अवस्थित स्टक ब्रोकर नम्बर २८ श्रीकृष्ण सेक्युरिटीजका अध्यक्षसमेत रहेका ७० वर्षीय मुन्दडासँग अर्थबिटले कुराकानी गरेको छ । 

बिराटनगरमा रहेको महेन्द्र मोरङ्ग कलेजबाट वि.सं.२०३१ सालमा बी.कम. पास गर्दै राजधानी काठमाण्डौमा भने वि.सं.२०४६ सालमा मुन्दडाको प्रवेश भयो । उनी र उनका परिवार उतै बिराटनगरमा व्यापार गर्दथे । काठमाण्डौ आएपछि पनि उनले ४–५ वर्ष व्यापार नै गर्न थाले । तत्कालीन समयमा उनले क्यासेटको व्यापार गर्दथे । 

मुन्दडाको नातामा भिनाजु फूपाजुले वि.सं.२०५१ सालमा ब्रोकर लाईसेन्सका लागि आवेदन दिन सुझाव दिएका थिए । आफन्तको सुझाव शिरोधार्य गरे । लगत्तै अन्तर्वार्तामा पनि बोलाइयो तर पहिलो पटकको प्रयासमा उनी लाइसेन्स पाउन विफल भए । उनी त्यतिबेला ४१ वर्षका थिए ।

केही दिनपछि फोन आयो र त्यसपछि लिमिटेड बनाएर आएमा भने ब्रोकर लाइसेन्स दिइने नेपाल स्टक एक्सचेञ्जले शर्त तेस्र्यायो । उनीसहित ८ जना मिलेर जनही १–१ लाखका दरले ८ लाख पूँजीमा शुरु भयो ब्रोकर नम्बर २८ अर्थात् श्रीकृष्ण सेक्युरिटीज लिमिटेड । तत्कालीन समयमा ब्रोकरको पूँजी ५ लाख रुपैयाँ थियो । हाल भने कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँ पुगिसकेको छ ।  

उमेरले ७० वर्ष नाघिसकेका मुन्दडाको जोश जाँगर र कर्मप्रतिको लगनशीलता र मिहिनेत भने कुनै युवाभन्दा कम छैन । ३० वर्ष एउटै पेशा व्यवसायमा लाग्दासमेत दिक्क नबनेका उनी आफ्नो कर्मलाई नै भगवान् ठान्दछन् । 

वि.सं.२०५१ सालमा ब्रोकर लाइसेन्स लिएको बखतमा शेयर बजार भर्खरै बामे सर्दै गरेको मुन्दडा विगत सम्झन्छन् । त्यो बेलामा शेयर किनबेच पनि खासै नभएको उनले विगत कोट्याए । ५२ सालताका भने शेयर बजारमा बुल आएको उनी सम्झन्छन् । उक्त बुलमा नेप्से परिसूचक १०० बाट २७५ विन्दू पुगेको थियो । “ मलाई अझै पनि सम्झना छ कि त्यो बेलामा नेपाल बैंकको शेयरमूल्य प्रतिकित्ता ४ हजार रुपैयाँ पुगेको थियो । त्यो बेलामा मुश्किलले ७०–८० कम्पनी मात्रै नेप्सेमा कारोबार हुन्थ्यो । ”,मुन्दडाले विगत सुनाए । 

आउटक्राई सिस्टममा शेयर किनबेच हुने त्यो बेला एक्सचेञ्जका कर्मचारीहरु सेतोपाटीमा कालो मार्करले कम्पनीका मूल्य र परिमाण लेख्दथे । ब्रोकरहरुले भने बोलेरै आफ्ना ग्राहकका खरिद आदेश दिने चलन थियो । पहिले डिल्लीबजारमा रहेको एक्सचेञ्जको कार्यालय पछि सिंहदरबार भद्रकाली प्लाजामा सर्यो । मुन्दडाका अनुसार हलभित्र आपसमा कुराकानी गर्दै कम्पनीको शेयरमा मोलतोल गर्ने चलन थियो । “हलभित्र भने ब्रोकरलाई मात्रै प्रवेश गर्ने अनुमति हुन्थ्यो ।”,उनले सुनाए । 

मुन्दडाका अनुसार तत्कालीन समयमा एक्सचेञ्जमा चिटको लेनदेन हुन्थ्यो । त्यो बेला मुश्किलले एउटा ब्रोकरले औसतमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म शेयर कारोबार गर्दथे । नेप्सेमा भने दैनिक कारोबार केबल ५ लाख रुपैयाँ हाराहारीमात्रै हुन्थ्यो । “त्यो बेलामा सामान्यतया काठमाण्डौकै लगानीकर्ताहरु मात्रै हुन्थे । लगानीकर्ताहरु भने एक्सचेञ्जको कार्यालय बाहिर(हाल नेप्से चार्जिङ्ग बुल रहेको स्थान) मा बस्दथे । ”,मुन्दडाले सुनाए,“कम्पाउण्डभित्र बसेका लगानीकर्ता झ्यालबाट इशारा गर्दै शेयर खरिदबिक्री हुन्थ्यो । ”

“त्यो बेला ब्रोकर कमिसन १.५ प्रतिशत थियो । म्यानुअल कारोबार हुने गरेको त्यो समयमा अकाउन्टिङ्ग पनि घरमै आएर हातैले गथ्र्यौँ ।”,मुन्दडाले विगत सुनाउँदै भने,“कारोबार समय भने दिउँसो ११ बजेदेखि १ बजेसम्म थियो र शुक्रबार चाहिँ अड लट कारोबार हुन्थ्यो । सूचीकृत कम्पनीहरुको सूचना भने पत्रिकामा आउँथ्यो । ” उनका अनुसार सूचीकृत कम्पनीले उसको सूचनाहरु नेप्सेलाई  अनि नेप्सेले ब्रोकरलाई जानकारी प्रवाह हुने त्यो बेलामा सेतोपाटी बोर्डमै पनि लेखिने अभ्यास थियो । अहिलेजस्तो वेबसाइटको भित्तामा कम्पनीका सूचना आउँदैन थियो । 

दोस्रो बजारको कारोबार रकम भने ५६–५७ सालताका मात्रै थोरै वृद्धि भएको रहेछ । ५ लाखबाट १५–२० लाख रुपैयाँ दैनिक कारोबार हुने गरेको त्यो बेला मुन्दडाको श्रीकृष्ण सेक्युरिटीजबाट भने १५–२० जना मात्रै ग्राहक रहेको उनले स्मरण गरे । तर हिजोआज भने ब्रोकर नम्बर २८ मा ७० हजार लगानीकर्ताहरु आवद्ध छन् जसमध्ये ७ हजार चाहिँ सक्रिय शेयर कारोबार गरिरहेको उनको दाबी छ । उनका अनुसार त्यो बेला शेयर किनिसकेपछि लगानीकर्ताले नगद वा चेक दुवै माध्यमद्वारा भुक्तानी गर्दथे । त्यतिबेला केबल नागरिकता मात्रै भएपनि शेयर कारोबार गर्न पाउने सुविधा थियो । नाम पनि शेयर किनेपछि मात्रै हाल्ने चलन थियो । शेयर बजार एकातिर बामेमात्रै सर्र्दै गरेको त्यो बेला ब्रोकर कम्पनीहरु ६२ सालसम्मै घाटामै चलिरहेको उनले सुनाए । भारतको सहयोगमा २०६४–६५ सालताका नेप्सेका तत्कालीन सीइओ शंकरमान सिंहको पालामा सिडिएस एण्ड क्लियरिङ्ग लि.को स्थापना भयो । उनका अनुसार त्यो बेला पनि सेमी म्यानुअल टीएमएसबाट शेयर कारोबार हुन्थ्यो । “नामसारीका लागि लेखेरै पठाउनुपथ्र्यो । नामसारी हुन पन हप्तौं र महिनौं पनि लाग्दथ्यो । तर लगानीकर्ताले बीटीमा राखेर तुरुन्तै शेयर किनबेच हुन्थ्यो । बीटीकै लागि पनि २–४ दिन लाग्थ्यो ।  ”

मुन्दडा ६४ देखि ६३ सालसम्म २ वर्षका लागि ब्रोकरहरुको नेतृत्व गर्दै स्टक ब्रोकर्स एशोसिएसनको अध्यक्षका रुपमा निर्वाचित भए । ब्रोकर नम्बर ५ का पूर्णमान सिंहले ६ भोट र मुन्दडाले १७ भोट हासिल गर्दै अध्यक्षका रुपमा निर्वाचित भएको स्मरण गरे । कुल ३२ जना ब्रोकरहरुमध्ये ९ जनाले नियामक निकायको निर्देशनविपरीत आफ्नै नाउँमा शेयर कारोबार गर्ने, डमी अकाउन्ट मार्फत् शेयर खरिदबिक्री गर्दा लाइसेन्स नै गुमाउनु परेको थियो । 

६४–६५ सालताका नेप्सेमा १०० हाराहारी कम्पनी सूचीकृत थिए । औसतमा दैनिक कारोबार २० देखि २५ लाख रुपैयाँ हुन्थ्यो । मुन्दडाको ब्रोकरेज फर्ममार्फत् भने २–३ लाख रुपैयाँ शेयर किनबेच हुन्थ्यो । हाइड्रोपावर कम्पनीहरु निकै कम रहेको त्यो बेला एनएचपीसी,बीपीसीएल,चिलिमेलगायतका कम्पनी थिए । त्यो बेला ब्रोकरको पूँजी २० लाख रुपैयाँ पुगिसकेको थियो । 

मुन्दडाको ब्रोकर नम्बर २८ सुरुमा न्यूरोड धर्मपथमा २०७० सालसम्म थियो । ७१ सालमा उनको ब्रोकरेज फर्म चारखाल रोडमा सर्यो । ब्रोकर्स एशोसिएनको नेतृत्व गरिरहेको बेला मुन्दडाले समेत सबै मिलेर सेमी अनलाइन टीएमएस ल्याउन पहल गरेको बताए ।“ भारतको सन् १९९० सम्म नेपालको शेयर बजारजस्तै हालत थियो । २०५० सालमा बीएसई ३ हजार विन्दू चुम्यो । उनीहरुले फड्को पनि मारिसके तर हामी भने बेसिक मात्रै चेञ्ज गर्यौँ । ”,उनी भन्छन्,“ शेयर कारोबार पूर्ण अनलाइन भयो । शेयर कारोबारमा परिवर्तन भएन । नीतिगत परिवर्तन भएन । विदेशी लगानीकर्ताका लागि पनि खोलिएन ।” 

नेपालको शेयर बजारमा ‘फ्रड’ नभई स्मूथ्ली चलेको जिकिर गर्दै मुन्दडाले बजार केबल कछुवा तालले मात्रै अघि बढिरहेको बताए । जसोतसो २०७५ सालमा पूर्ण अनलाइन कारोबार पनि आयो । 

लामो समय ब्रोकरका रुपमा अनवरत खटिरहँदासमेत मुन्दडालाई कहिल्यै दिक्क लागेन ।  उमेर बढेपनि तनाव नभएको उनी जिकिर गर्छन् । कमिसनमा आधारित व्यवसाय भएपनि तनाव नलिई लगनशील र मिहिनेतका साथ आफ्नो पेशा अङ्गालिरहेका उनी परिस्थिति अनुसार नै आफूलाई समेत ढाल्दै जाने आदत बसेको उनको भनाइ छ । आउटक्राई सिस्टमबाट पूर्ण अनलाइन शेयर कारोबारसम्म आइपुग्दासमेत उनी सिक्दै आफ्नो पेशामा तल्लीन छन् । कार्यालयको उनको क्याबिनमा समेत ३ वटा ल्यापटप राख्छन् । एउटामा प्राविधिक विश्लेषण,दोस्रोमा न्यूज र तेस्रो ल्यापटपबाट भने लगानीकर्ताहरुको खरिदबिक्रीको आदेश पोस्ट्याउँछन् । यसबाट पनि बुझ्न सकिन्छ कि उमेर केबल नम्बर हो तर ब्रोकरको प्यासन भएको व्यक्तित्व मुन्दडामा देखिन्छ । 

विगतमा ५० ब्रोकरेज फर्म हुँदा टप १५ भित्र पर्ने ब्रोकर नं.२८ पछिल्लो समय नयाँ ब्रोकर थपिएसँग कारोबार खस्केको मुन्दडा बताउँछन् । हाल दैनिक २० करोड रुपैयाँ हाराहारी उनकै फर्मबाट मात्रै शेयर किनबेच हुने गरेको छ । उनको फर्मबाट एकैदिन सर्वाधिक १ अर्ब रुपैयाँसम्म कारोबार भएको उनी सुनाउँछन् ।  “ हिजोका दिनमा २८ नं. बाट दैनिक १ लाख देखि १ अर्ब रुपैयाँसम्म कारोबार गर्दा पनि म कहिल्यै उत्तेजित पनि भइन र निराश पनि । हिजो २ वटा कोठाबाट सुरु भएको उनको ब्रोकरेज फर्म अहिले आधुनिक अफिसका रुपमा परिणत भइसकेको छ । सो संस्थामा कार्यरत कर्मचारीहरुलाई पनि पूर्ण सेवासुविधा दिइएको उनले बताए । बिराटनगरमा १ शाखा रहेको ब्रोकर नं.२८ मा हाल २८ जना कर्मचारीहरु कार्यरत छन् । “ म २८ जना सहकर्मीका साथ काम गर्न पाउँदा मलाई खुशी लागेको छ । ७० हजार ग्राहकलाई सेवा दिन पाउँदा आनन्द लाग्दछ ।”उनले भने । 

काठमाण्डौ चारखाल रोडस्थित श्रीकृष्ण सेक्युरिटीज लि.को कार्यालय र कार्यरत कर्मचारीहरु:

नियामक निकायको नजरमा समेत हजुर जेन्यून ब्रोकरका रुपमा चिनिनुहुँदो रहेछ नि,यो कसरी सम्भव भयो भन्ने अर्थबिटको प्रश्नमा मुन्दडाले नियामकलाई अभिभावकका रुपमा मान्दै नियामकीय निर्देशनलाई सम्मान गरेकाले आफूलाई पनि अभिभावकले माया गरेको सुनाए । “विगत ३० वर्ष लामो समयसम्म नियामक निकायबाट सिक्दै ग्राहकको सेवामा निष्ठापूर्वक गरेको कामको नतिजा हो जस्तो लाग्छ । ”,उनले भने । २०७१ सालमा सेबोनका पूर्वअध्यक्ष रेवत बहादुर कार्की चारखाल रोडस्थित कार्यालय भ्रमण गर्दा खुशी भएको स्मरण उनको मस्तिष्कमा ताजै छ । 

ब्रोकर नम्बर २८ का अध्यक्ष मुन्दडा शेयर बजारका आधारभूत नियम बाहिर नगई ब्रोकरेज सेवा दिइएको बताउँछन् । कथमकदाचित आफूबाट गल्ती हुन गएको खण्डमा पीडित अर्थात् आफ्ना ग्राहकलाई क्षतिपूर्ति समेत दिने अभ्यास रहेको उनको भनाइ छ । नियामक निकायहरुको नीति निर्देशनलाई पछ्याएर नै आज यहाँसम्म आउन सफल भएको उनले बताए । 

ब्रोकरेज पेशामा मुन्दडाको विशेष प्यासन रहेछ । उमेरले ७० वर्ष पुगे तापनि उनको जोश र कार्यशैली कुनै युवाको भन्दा कम छैन । हातखुट्टा चलेसम्म यही ब्रोकरेज पेशामै रमाउने उनको धोको छ । भागदौडको व्यवसायभन्दा इन्डोर काम गर्न रुचाउने उनी आफ्नो स्वभावलाई मिल्ने खालको पेशामा आवद्ध हुन पाएकोमा गर्वित र खुशी छन् ।

धितोपत्र कारोबारमा ब्रोकरेज कम्पनीको अनिवार्य उपस्थिति आवश्यक छ । यही कुरालाई बुझेका उनी आगामी दिनमा एड्भान्स टेक्नोजी आए पनि आफू सिकेर सेवा दिन उत्साहित रहेको जोशिलो पारामा उनी भन्छन्,“ घरमा अल्छी भएर बस्न मन नै छैन । शरीर स्वस्थ र दुरुस्त राख्न खानपिनमा नियन्त्रण र दैनिक योगा गर्दछु । ”

जेन्यून ब्रोकर हुनका लागि ग्राहक तथा लगानीकर्तालाई नै शेयर खरिदबिक्रीमा प्रमुख प्राथमिक दिइनुपर्नेमा मुन्दडाको विश्वास छ । ग्राहकको खरिदबिक्री आदेशलाई मात्रै शिरोधार्य गरे पनि यो पेशा निकै राम्रो भएको उनी सुनाउँछन् । व्यवसायिक धर्म अनुपालना क्रममा आफ्नो परिवारले हालसम्म कसैलाई ठगी नगरेको उनले जिकिरसमेत गरे । आफ्नो पिताले समेत अरुलाई राम्रो सल्लाह दिएको सिद्धान्तलाई नै पदचाप पछ्याएका उनी जेनेटिकमै झूटोपना नभएको दाबी गर्छन् । 

ब्रोकर नम्बर २८ को लाइसेन्स हाता पर्दा ४ परिवारका कम्पनीको ८ जना साझेदार थिए । संस्थापकहरु ंहाल पनि तिनै ८ जना नै यथावत छन् । १ जना संस्थापकको मृत्यु भएपछि भने उनकै छोरा साझेदारका रुपमा रहेको मुन्दडा बताउँछन् । ५१ सालदेखि ८१ सालसम्मै कम्पनीभित्रबाट कहिल्यै पनि साझेदारबाट असहयोग र हस्तक्षेप नभएको उनी जिकिर गर्छन् । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था धराशायी भएर अन्तिम अवस्थामा मात्रै सुक्ष्म निरीक्षण गर्ने अभ्यासप्रति चाहिँ मुन्दडाले आपत्ति जनाए । सुरुदेखि नै निर्देशन दिँदै जवाफदेही बनाउनुपर्ने उनको धारणा छ । सूचीकृत कम्पनीहरुले पनि नीति नियम तथा निर्देशनहरु पालना गरे नगरेको बारेमा नियामकीय निकाय राष्ट्र बैंक,सेबोन,नेप्से,सिडिएससीलगायतबाट पनि नियमित नियमन तथा निरीक्षण हुनुपर्नेमा उनले जोड दिए । 

शेयर बजारबाट कमैले मात्रै कमाउन सक्छन् भन्ने भनाइ छ नि भन्ने अर्थबिटको प्रश्नमा मुन्दडा भन्छन्,“लगानीकर्ताहरु विभिन्न मनोभावका हुन्छन् । साधारण लगानीकर्ता बजार बढेको बेला मात्रै आउनुहुन्छ । बजारमा सधैं धैर्यता र अनुशासन अनि निरन्तरताको पनि खाँचो पर्दछ । ”“शेयर बजार धैयता र समय दिएर असीमित पैसा कमाउने सेक्टर हो र यो बाहेक अन्य सायदै कुनै छैन । ”,मुन्दडाले दाबीसमेत गरे । 

शेयर बजारमा लगानीकर्ता पनि जेन्यून हुन आवश्यक रहेको मुन्दडाको भनाइ छ । बजार प्रवेश गर्न सूचीकृत कम्पनीको राम्रो अध्ययन गर्नुपर्ने उनले सुझाए । बजारमै बस्न चाहने हो भने २४ सै घण्टा समय दिनुपर्ने उनी सुनाउँछन् । “बजारको हिडाईं,सरकारी नीति नियमहरु,बजारको दिशा अनि प्रभाव पार्ने सेक्टरहरुबारे सुक्ष्म अध्ययन गनुपर्नेमा उनले जोड दिए । “हल्लाकै भरमा लगानी गर्नु उचित हुँदैन । बजारमा सफल हुन चाहनेले पूर्ण समय पनि दिनुका साथै धैर्यता पनि आवश्यक चीज हो ।”,मुन्दडा प्रष्ट्याउँछन् ।  

अन्तर्वार्ताको अन्त्यतिर मुन्दडा निकै भावुक हुँदै भन्छन् ,“ कम्पनीको सफलता मेरा लगानीकर्ता हुन् । वहाँहरु डुब्दा मलाई दुः ख हुन्छ ।”

ब्रोकर नम्बर २८ बाटै विगत २५ वर्षभन्दा बढी समयदेखि निरन्तर शेयर कारोबार गर्दै आएका कुमार केशर विष्ट भन्छन्,“म अन्य ८–१० वटा ब्रोकरेज फर्मबाट शेयर कारोबार गरेपनि यहाँबाट पाएजस्तो सेवासुविधा अन्यत्रबाट पाएको छैन । सम्भवतः म यस ब्रोकर कम्पनीबाट सबैभन्दा धेरै कारोबार गर्ने ग्राहक हुँ । म नन्दकिशोर मुन्दडा र ब्रोकर नम्बर २८ दुवैबाट एकदमै सन्तुष्ट छु । म त ब्रोकर नम्बर २८ लाई १०० मा ११० नम्बर दिन चाहन्छु । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।