काठमाण्डौ । दोस्रो बजारमा न्यादी हाइड्रोपावर कम्पनी लि.(न्यादी)को शेयरमूल्यमा पहिरो गएको छ ।
गत साता न्यादीको शेयर प्रतिकित्ता रु. ८१४ मा ठूलो परिमाणमा किनबेच हुँदै मूल्य ८६८ सम्म पुगेकोमा आज आइतबार भने प्रतिकित्ता ७०३ रुपैयाँमा किनबेच भइरहेको छ । यसरी न्यादीको शेयरभाउमा प्रतिकित्ता डेढ सय रुपैयाँसम्म मूल्य ओरालो लागेको छ ।
यो समाचार तयार पार्दासम्म न्यादीको ४० हजार कित्ता रु. ७०३ प्रतिकित्ता बिक्रीतर्फ राखिएको छ भने खरिदतर्फ शून्य रहेको छ । यद्यपि नेप्सेले उपलब्ध गराएको फ्लोरसिटको तथ्यांकलाई हेर्ने हो भने चाहिँ डेढ घण्टामै करिब १ लाख ५४ हजार कित्ता शेयर किनबेच भइसकेको देखिन्छ ।
किन घट्यो मूल्य ?
न्यादीको कुल पूँजीको १० प्रतिशत स्थानीयवासीलाई शेयर प्रदान गरिएकोमा १५ लाख कित्ता शेयर डिम्याट गराउन बाँकी रहेको भन्ने अफवाह र मिथ्या सूचना सामाजिक सञ्जालमा फैलाइयो । तदनरुप बजारमा आपूर्ति आउने डरले अधिकांश साना लगानीकर्ताहरुले उक्त शेयरको बिक्री गर्न चाहे । सोही आपूर्तिको डरले साना लगानीकर्ताहरु आत्तिएका कारण शेयरमूल्यमा पहिरो गयो ।
तर न्यादी हाइड्रोका अनुसार करिब ३ लाख कित्ता मात्रै स्थानीयको शेयर डिम्याटमा आउने आधिकारिक जानकारी दिएको छ । आत्तिएर सस्तोमा बिक्री गर्ने साना लगानीकर्ताहरुको शेयर भने उही ठूला लगानीकर्ता तथा अपरेटरहरुले नै घटाई घटाई शेयर सोहोरिरहेको स्रोत बताउँछ । बजारबाट न्यादीको शेयर भारी मात्रामा उठाइरहेको तथ्यांक र साना लगानीकर्ताहरुबाट सस्तोमा पुनः शेयर उठाइसकेपछि पुनः मूल्य उचाल्ने दाउमा ठूला लगानीकर्ताहरुले जोहो गरिरहेको हुनसक्ने स्रोतहरुको विश्लेषण छ ।