काठमाण्डौ । नयाँ कम्पनीहरुको आइपीओमा ४ दिनमै १५–२० गुणा बढीले आवेदनको ओइरो लाग्छ । तर म्युचुअल फण्डका एनएफओ (न्यू फण्ड अफरिङ्ग) मा भने १४ दिनमा पनि बिक्री हुन छाडेको छ ।
माछापुच्छ्रे बैंक कोष प्रवर्धक रहेको योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलले बिक्रीमा ल्याएको एमबीएल इक्विटी फण्डको एनएफओमा १२ दिन बितिसक्दा पनि बिक्री नभएको हो ।
म्युचुअल फण्डहरुको लुटधन्धा : एसआइपीको जालोमा फस्दै सर्वसाधारण
गत फागुन २२ गतेदेखि निष्कासन भएको १.२ अर्बको एमबीएल इक्विटी फण्डमा मंगलबार १२ दिन बितिसक्दासमेत ५३ हजार ७१५ आवेदकबाट ८ करोड ३४ लाख ६९ हजार ७६० इकाई खरिदका लागि कुल ८३ करोड ४६ लाख ९७ हजार ६०० रुपैयाँको आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लि.ले जानकारी दिएको छ ।
दोस्रो बजारमा प्रायः म्युचुअल फण्डहरु ८ रुपैयाँ हाराहारीमै खरिदबिक्री भइरहेको छ । अंकित मूल्य रु. १० मा खरिद गर्ने अनि बेच्नुपर्दा ८ रुपैयाँमा मुश्किल पर्ने भएका कारण आजकल सजग लगानीकर्ताहरुले म्युचुअल फण्डमा पैसा ओइराउन छाडेका छन् । धेरै म्युचुअल फण्डहरुले सर्वसाधारणबाट अबौँ पैसा उठाउने तर २–३ वर्षसम्म पनि लाभांश भने नदिने परिपाटीले समेत म्युचुअल फण्डप्रतिको धारणा नकारात्मक बन्दै गइरहेको छ ।
संस्थागत लगानीकर्ताका रुपमा रहेका क्यापिटलहरुले शेयर बजारबाट कमाउनै हम्मेहम्मे परिरहेको छ । उनीहरुको सधैं एउटै साझा भनाइ हुन्छ– बजार घट्यो अनि लाभांश दिन सकिएन । तर अहिले बजार १८ सय विन्दूबाट २९ सय विन्दूसम्म पुग्दा पनि दोस्रो बजारमा अधिकांश म्युचुअल फण्डहरु ८ रुपैयाँमै फालाफाल पाइरहेका छन् ।
शेयर बजार नजानेका सर्वसाधारणको स–साना बचत रकमलाई परिचालन गरी राम्रो मुनाफा दिनुपर्ने नियम विपरीत अधिकांश क्यापिटलहरुले ठगीधन्धाका रुपमा अपनाउने जमर्को भइरहेको बजारमा विश्लेषण हुने गरेको छ । म्युचुअल फण्डका विकृति र विसङ्गति विरुद्ध आवाज उठाए केही इन्फ्योन्सरलाई मोटो रकम दिई सर्वसाधारणको मनस्थिति सकारात्मक बनाउने र थुम्थुमाउने प्रयास भइरहेको छ ।