नेपाल माइक्रो इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्दैछ कारोबार ?

अर्थबिट २०८१-१२-२० ०१:२१:०० बजे

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयर सूचीकृत भएको छ । 

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड(एनएमआइसी)को बिहीबार साधारण शेयर सूचीकरण गरिएको नेप्सेले जानकारी दिएको हो ।

बिहीबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (नेप्से सिम्बोल एनएमआइसी) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १०० कायम भएको ७५ लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने समझौता सम्पन्न भएको छ।

कम्पनीले सर्वसाधारण समक्ष एनआइएमबि एस क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो। यसरी सर्वसाधारण शेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली,सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरिएको २२ लाख ५० हजार कित्ता (३० प्रतिशत) र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता (७० प्रतिशत) शेयर समेत गरी जम्मा ७५ लाख कित्ता (१०० प्रतिशत)  साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम चैत २० गतेको निर्णयानुसार सूचीकरण गरिएको हो ।

धितोपत्र सूचीकरण सम्भौता सम्पन्न भएको दोस्रो कारोवार दिनवाट अर्थात् आगामी साताको आइतबार रामनवमीका अवसरमा सार्वजनिक विदा भएकाले सोमबारदेखि नेपाल माइक्रो इन्स्योरेन्सको शेयर खरिदबिक्री गर्न मिल्नेछ । सोमबारबाट उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार शुरू हुनेछ। 

नेप्सेले उक्त कम्पनीलाई सुरुवाती मूल्य रेन्ज समेत तोकिदिएको छ । जसअनुसार रु.१००.८० देखि रु.३०२.४० हुनेछ । यही मूल्यको रेन्जमा अर्को साता सोमबार स्पेशल प्रिओपस सेसनमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड(एनएमआइसी)को पहिलो कारोबार भएपछि नियमित सत्रमा कारोबार हुनेछ । 

कम्पनीको प्रधान कार्यालय भरतपुर, चितवन रहेको र सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, बानेश्वर, काठमाडौंबाट हुने बताइएको छ।

 

 

*यसअघि सोमबार हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । - सम्पादक

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।