जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन

अर्थबिट २०८१-१२-३० ०९:१८:०० बजे

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको विकास र आकार वृद्धिका लागि बीमा कम्पनीहरू आगामी दिनमा इमान्दारिका साथ अझ बढी जिम्मेवारीपूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल बीमा प्राधिकरणद्वारा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आयोजित नववर्ष २०८२ सालको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओझाले प्राधिकरण आफ्नो क्षमतालाई बढाएर अपेक्षित रूपमा स्तरीय सेवा दिन तयार रहेको बताउनुभयो ।

बीमा कम्पनीहरूलाई बोनसबाट बाहिर निस्केर टर्म इन्स्योरतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिनुहुँदै अध्यक्ष ओझाले भन्नुभयो, “जोखिमाङ्कनमा समस्या छन्, त्यसलाई सुधार्नुपर्छ, कर्मचारीलाई लक्ष्य दिँदा बीमालेख जारी सहित नवीकरणको पनि लक्ष्य दिनुपर्छ, बीमा गराउँदा शुरूमैं बीमालेखका शर्त लगायतका सबै विषयमा जानकारी गराउनुपर्छ, कर्मचारीहरूका लागि तालिम बढाउनुपर्छ र आफूले गरेका कामको प्रचार पनि गर्नुपर्छ ।”

उहाँले बीमा कम्पनीहरूलाई सजिलो क्षेत्रबाट बाहिर निस्केर घर लगायतका नयाँ नयाँ क्षेत्रमा जान, उपभोक्ता समूहहरू समेतलाई बीमामा जोड्ने र लगानी समेत सुरक्षित हुने गरी टर्म इन्स्योरेन्सको बजार बढाउन र बीमा बजारका समस्या पहिचान गरी समाधानका साथ अगाडि बढ्न निर्देशन दिनुभयो ।

अध्यक्ष ओझाले बीमा कम्पनीहरूमा राम्रोसँग काम भएको छ छैन भनेर हेर्ने दायित्व कानूनी रुपमा प्राधिकरणमा निहित रहेकाले त्यसलाई बेवास्ता गर्न नसकिने उल्लेख गर्नुहुँदै हस्तक्षेपको अवस्था सिर्जना नहुने गरी जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुभयो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि सकारात्मक रूपमा आ–आफ्नो स्थानबाट योगदान पु¥याउन सबैसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरूका साथै नेपाल बीमक संघ, नेपाल निर्जीवन बीमक संघ र लघुबीमक संघका अध्यक्षहरू, निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पूर्ण बहादुर थापाले गर्नुभएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।