काठमाण्डौ । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन बलेफी हाइड्रोपावर लिमिटेड(बीएचएल)ले ह्याट्रिक गरेको छ ।
आज मंगलबार बलेफीको टप टर्नओभर,टप भोल्युम र टप ट्रान्जेक्सन गरी ३ वटै विधामा सर्वाधिक रेकर्ड कायम गर्र्दै ह्याट्रिक गरेको हो ।
बीएचएलको मंगलबार रु. २ अर्ब १ करोड २९ लाख ९३ हजार १४२.६० सर्वाधिक रकमको कारोबार सम्पन्न भयो । यसैगरी उक्त कम्पनीको ८६ लाख ७८ हजार २२५ कित्ता सर्वाधिक शेयर संख्याका आधारमा रेकर्ड बनाएको छ । जुन आजसम्मकै ऐतिहासिक रेकर्डसमेत हो । यस्तै सोही कम्पनीको ९ हजार २६८ पटक शेयर खरिदबिक्रीको रेकर्ड राख्न सफल भएको छ ।
नियमित कारोबार सत्रमा मंगलबार बीएचएलको कारोबार प्रकृति देखेर अधिकांश लगानीकर्ता अचम्मित समेत भए । फ्लोर नै खाली हुने गरी आपूर्तिको बाढी बढाएपछि घरीघरी त खरिदकर्ता नै हुन्थेनन् । यद्यपि करिब १० प्रतिशत घटेको मूल्यमै ८६.७८ लाख कित्ता कारोबार भयो ।
आज कम्पनीको शेयर दोस्रो बजारमा आपूर्ति हुनुका प्रमुख ३ कराण छन् । कम्पनीको गत चैत २९ गते लकइन पिरियड खुला भएपछि संस्थापक शेयरधनीले धारण गरेको शेयर,स्थानीय बासिन्दाहरु तथा कर्मचारीहरुलाई बाँडफाँट गरिएको शेयर बिक्रीमा आयो । यस्तै नेप्सेमा गत चैत्र २२ गते उक्त कम्पनीको १०० प्रतिशत हकप्रद शेयर सूचीकृत भएको थियो । अनि अवितरित हकप्रद शेयर जुन अक्सनमार्फत वितरण गरिएको थियो सोही शेयर पनि बिक्रीयोग्य भइसकेको छ । यही ३ कारण जसले धितोपत्र बजारमा आपूर्तिको बाढी ल्यायो ।
मंगलबार सो कम्पनीको मूल्य प्रतिकित्ता रु. २२९.७० कायम भएको छ ।