के अर्थमन्त्रीप्रति नकारात्मक बन्दैछ शेयर बजार ?

अर्थबिट २०८२-०२-०५ १५:०८:०० बजे

काठमाण्डौ । शेयर बजार अनिर्णयको बन्दी बनिरहेको छ । लगानीकर्ताहरु न शेयर खरिद गर्न उत्साहित छन् न त शेयर बिक्री गर्न नै आतुर । बजार चलायमान नहुनुमा पछिल्लो समय राजनीतिक कारण नै प्रमुख बनिरहेको छ । बजारलाई नै डोमिनेट गरिरहेको अस्थिर राजनीतिकै कारण लगानीकर्ताहरु अनिर्णीत बनिरहेका हुन् । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई सबैतिर निकै चासो र चिन्ताका रुपमा लिइरहेको देखिन्छ । शेयर बजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पार्ने गभर्नर नियुक्ति ढिलाईं हुँदै जाँदा बजारको साइडवेज अवस्था पनि लम्बिदै गइरहेको देखिन्छ । अर्थात् नेप्से परिसूचक केही सातादेखि २६ सय विन्दूकै सेरोफेरोमा रुमलिरहेको छ । 

समसामयिक शेयर बजारको अवस्थाका बारेमा लगानीकर्ता माधव पाण्डेको व्यक्तिगत बुझाई र धारणालाई समेट्ने अर्थबिटको जमर्को रहेको छ । 

बुटवलका सक्रिय शेयर लगानीकर्ता माधव पाण्डे सूचीकृत कम्पनीहरुले प्रतिफल दिन नसक्दा लगानी डाइभर्ट भइरहेको जिकिर गर्छन् । संस्थापक लगानीकर्ताहरु बाहिरिने क्रम बढ्दो भएकै कारण बजार चलायमान हुन नसकेको उनको बुझाइ छ । बजारमा शेयरको आपूर्ति पनि अत्याधिक रहेकाले बजार उक्लिन नसकेको उनी बताउँछन् । ‘हचुवाकै भरमा हकप्रद शेयर जारी गर्ने कम्पनीहरुको सिको  नै बजारमा आपूर्ति बढेको उनको ठहर छ । संस्थाका प्रमोटरलाई, लगानीकर्तालाई तथा कम्पनी चलाउन अनि कर्जा घटाउन कि चलखेल गर्न ?’, उनले कुराकानीका क्रममा अर्थबिटसँग भने,‘सबै सेक्टरको लकईन कडाई गरिइर्नुपर्छ । मुख्य संस्थापकहरुलाई न्यूनतम होल्ड अनिवार्य गराउनै पर्छ । ’

शेयर बजारमा कतै वियरिस ट्रेण्ड त सुरु भएको होइन भन्ने अर्थबिटको प्रश्नमा पाण्डे भन्छन्,‘ कम्पनीमा बुल वियर चलिरहन्छ । सेक्टरल कम्पनी मात्रै चलिरहेको छ । बजारमा अत्याधिक उधारो कारोबार र शेयर प्लेजले सेलिङ्ग प्रेसर दिइरहेको छ । ’ पछिल्लो समय लाभांशमा आधारित भई दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ता नभएको उनी दाबी गर्छन् । कम्पनीहरुले पनि लाभांश नदिइएकै कारण अहिले पूँजीगत लाभमै केन्द्रित हुनुपर्ने बाध्यता रहेको उनको धारणा छ । 

सरकारबाट आम जनता सन्तुष्ट नरहेको र जसमा लगानीकर्ताहरु पनि समावेश भएको उल्लेख गर्दै पाण्डे तरलता र न्यून ब्याजदरले पनि बजार नउकासेको बताउँछन् । प्रधानमन्त्री र अर्थमन्त्रीप्रति नै लगानीकर्ताहरुको विश्वास नभएको उनले ठोकुवै गरे । बजेट र मौद्रिक नीतिले शेयर बजारलाई समेट्नुपर्ने उनको भनाइ छ ।  वर्तमान अर्थमन्त्री  पटक–पटक अर्थमन्त्री हुँदासमेत उनी शेयर बजारमैत्री नीति ल्याउन चुकेको  पाण्डेको आरोप छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।