काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा पेशाप्रति इमान्दार बन्न र बीमा व्यवसाय दिगो हुनेगरी काम गर्न बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
नेपाल बीमा प्राधिकरणद्वारा आज विराटनगरमा कोशी प्रदेशस्थित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूसँग आयोजित छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओझाले बीमा पेशाका राम्रा र नराम्रा पक्षहरू पहिचान गरी राम्रा पक्षलाई मात्र अगाडि बढाउन निर्देशन दिनुभयो ।
अध्यक्ष ओझाले बीमा ऐन, नियम र निर्देशिका बमोजिम व्यवसाय गर्न, सही रूपमा जोखिमाङ्कन गर्न र बजारमा नकारात्मक सन्देश जानेगरी काम नगर्न बीमकहरूलाई निर्देशन दिनुहुँदै ऐन, नियम र निर्देशिका विपरित गएमा कारवाही हुने बताउनुभयो ।
बीमा व्यवसायको महत्व अरूले नभई बीमकहरूले नै बढाउने हो भन्नुहुँदै अध्यक्ष ओझाले बीमकले बीमालेख जारी गर्दा सही जानकारी दिएमा दाबी भुक्तानीमा समस्या नआउने बताउनुभयो ।
अध्यक्ष ओझाले भन्नुभयो, “नागरिकले बीमा गरेपछि दाबी भुक्तानी पाउनुपर्छ, कर्मचारीको क्षमता अभिवृद्धिसँगै इमान्दारिता आवश्यक छ ।”
नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बीमा कम्पनीहरूले सुशासन पालना नगरी रेट कटिङ गरेमा कारवाही हुने उल्लेख गर्नुहुँदै कम्पनीहरू स्वनियममा बसेर काम गर्नुपर्ने बताउनभयो ।
कार्यक्रममा सहभागीहरूले बीमकका प्रादेशिक कार्यालयहरूलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने, प्रदेशमा सङ्कलन भएको प्रिमियमको निश्चित प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्बन्धित प्रदेशमा नै खर्च गर्नुपर्ने, कर्मचारीहरूका लागि तालिमको व्यवस्था गर्नुपर्ने, शाखा कार्यालय स्थापना गर्दा मापदण्ड अनुसार हुनुपर्ने, विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा बीमा विषयलाई समावेश गर्न पहल गर्नुपर्ने लगायतका धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्राधिकरणको कोशी प्रदेश कार्यालयका प्रमुख विनोद पोखरेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।
कार्यक्रममा कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरू, इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटीका पदाधिकारीहरू र बीमा मध्यस्थकर्ताहरूको सहभागिता रहेको थियो ।