यी २ कारण जसले राधीको भाउ बढायो

अर्थबिट २०८२-०९-२९ ०६:४०:०० बजे

काठमाण्डौ । केही समयअघि मात्रै धितोपत्र बजारमा एसवाई प्यानल नेपाल लि. को शेयर सूचीकृत भई लगातार उकालो लागेको थियो । प्रतिकित्ता रु. ७५० देखि आक्रमक खरिद भएको उक्त स्टक छोटो समयमै मंगलबार रु. १५ सयसम्म पुग्यो । 

केही साताअघि एसवाई प्यानल नेपाल लि.कै शेयर दिनानुदिन उकालो लागेसँगै अन्य नयाँ कम्पनीका शेयरको भाउसमेत उकालो लागेको थियो । एसवाई प्यानल नेपाल लि.कै कारण उत्पादन समूह हालसम्मकै सर्वाधिक उचाई पनि चुम्यो । बजार साइडवेज अवस्थामै भए तापनि उक्त कम्पनीकै लहडमा अन्य कम्पनीहरुको पनि भाउ उकालो लाग्यो । तर मंगलबार भने दृष्य अलिक फरक बन्यो । एसवाई प्यानललगायत नयाँ कम्पनीका स्टकमा नाफा बुकिङ्गकै कारण गति लिन सकेन । अन्ततः पुराना कम्पनीहरु चलायमान हुँदै रौनक देखिन थालेको छ । 

एसवाई प्यानलको गति रोकिएपछि किन राधीको भाउ उकालो लाग्यो भन्ने कौतुहलता बढाएको छ  । 

राधीको भाउ उकालो लाग्नुमा मुख्य २ कारण रहेको छ । 

पहिलो, एसवाई प्यानलमा शतप्रतिशत नाफा भएपछि यही सातादेखि सो स्टकमा नाफा बुकिङ्ग गर्दै संलग्न खेलाडीहरु राधी विद्युत् कम्पनीको शेयर खरिद गर्न आक्रमक बनेको सूचना ब्रोकर हाउसहरुबाट चुहिएपछि उक्त शेयरमा एकाएक माग बढेको हो । मंगलबार राधीको रु.५४ करोड ६५ लाख ६६ हजार हाराहारीको शेयर खरिदबिक्री भयो । दोर्दीपछि सर्वाधिक ६ लाख ७४ हजार ६०० कित्ता कारोबार भएको यो दिन एकैदिन प्रतिकित्ता रु. ३१ बढेर रु. ८१९ अन्तिम मूल्य कायम हुन पुग्यो । उसो त यो कम्पनीको शेयरभाउ ३ ट्रेडिङ्ग दिनमै रु. ७३० बाट ८२० पुग्यो । 

अर्को कारण राधीको कुल चुक्ता पूँजीको १ः ०.६९८९ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिन लागेको हल्ला बजारमा फैलिएका कारण पनि मूल्य लगातार उकालो लागिरहेको बुझिएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।