एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

अर्थबिट ११:४९:०० बजे

काठमाण्डौ। एभरेष्ट बैंक लिमिटेडले माघ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज (माघ १७ गते) अन्तिम दिन रहेको छ।

बैंकले माघ ३ गतेदेखि ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्काशन तथा बिक्री खुला गरेको थियो। सो ऋणपत्रको अवधि ८ वर्ष रहनेछ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।