काठमाण्डौ।आइपीओ बाढी,लगत्तै अरु ३ कम्पनीको खुल्ने
काठमाण्डौ। आईपीओ निष्कासन हुने क्रमसँगै अब नयाँ कम्पनीका आइपीओको बाढी लाग्ने भएको छ।
अहिले इमर्जिङ नेपालको आइपीओ बिक्री खुला भइरहेको छ र अब लगत्तै अन्य ३ कम्पनीका आइपीओ पनि खुल्ने भएको हो।
राष्ट्रउत्थान लघुवित्तको आईपीओ सर्वसाधारणका लागि फागुन ४ देखि खुल्ने भएको छ । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएपछि ७ लाख ९४ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि खुल्नेछ । फागुन ८ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।
ग्रीन भेन्चर हाइड्रोपावरले प्रभावित स्थानीयका लागि फागुन २ गतेदेखि आईपीओ निस्कासन गर्ने भएको छ । प्रभावितलाई आईपीओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि खुल्नेछ । ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका १, २, ३ का सीमित प्रभावितले आवेदन दिन सक्नेछन् । लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोसी गाउँपालिका २ र उमाकुण्ड गाउँपालिका ७ का प्रभावितले यसमा आवेदन दिन सक्नेछन् । फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ओखलढुङ्गाको लिखु खोलाबाट ५२।४ मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्नेछ ।
त्यसपछि नेस्डो समृद्धि लघुवित्तको आईपीओ आउने छ । यद्यपि मिति तय भइसकेको छैन । नेस्डोले ८ लाख २८ हजार ७५० कित्ता सर्वसाधारण समूहको आईपीओ निष्कासन गर्नेछ ।