काठमाण्डौ।नेपाल राष्ट्र बैंकले वस्तुको आयातमा थप कडाई गरेको छ।
नेपाल राष्ट्र बैंकले विभिन्न ४१ प्रकारका वस्तु आयात गर्दा अनिवार्य शतप्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको छ। त्यस्तै ६ प्रकारका वस्तुमा अनिर्वाय ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको छ।
यस अघि राष्ट्र बैंकले विभिन्न २० प्रकारका वस्तुको आयात गर्दा अनिर्वाय सय प्रतिशतसम्म नगद मार्जिन राख्नु पर्ने ब्यबस्था गरेको थियो। अब भने थप वस्तुमा मार्जिनको ब्यबस्था गरिएको हो ।
अर्थात् कुनै सामान आयात गर्दा १०० रुपैयाँ लाग्ने छ भने १०० रुपैयाँ नै मार्जिनको रुपमा राख्नु पर्ने छ । यसो गर्दा व्यापारीले सामान आयात गर्दा थप नगदको व्यवस्था गर्नु पर्ने छ । यसबाट आयात निरुत्साहित हुने राष्ट्र बैंकको विश्वास छ ।
राष्ट्र बैंकले हर्मोनिक कोड अनुसार आयातमा कडाई गरेका सूची सार्वजनिक गरेको छ । चुरोट, सुर्ती, परफ्युम, टोइलेट पेपर्स लगायतका सामानहरु यस भित्र पर्दछन् ।
उल्लिखित मार्जिन रकम नगदका अतिरिक्त चल्तीरबचतरकल निक्षेप खाता खर्च गरी वा भुक्तानीका माध्यम प्रयोग गरी समेत जम्मा गर्न सकिनेछ । मार्जिन रकममा ब्याज प्रदान गर्न पाइने छैन । मार्जिन रकम जम्मा गर्ने प्रयोजनका लागि कुनै पनि कर्जा प्रवाह स्वेदशी मुद्रामा समेत गर्न पाइने छैन । यस्तो मार्जिन रकम कायम गरेको हकमा धरौटीको अतिरिक्त हुनेछ। उल्लिखित वस्तुहरु प्रतीतपत्रमार्फत् मात्र आयात गर्न पाइनेछ ।
उल्लिखित वस्तुहरु आयातका लागि अग्रिम भुक्तानी गर्न पाइने छैन । मार्जिन रकम प्रतीतपत्र खोल्दाकै अवस्थामा लिनु पर्नेछ र आयातको भुक्तानी गर्दा त्यस्तो मार्जिन रकम समेतलाई प्रयोग गर्न सकिनेछ। नेपाल सरकारका निकाय, कूटनीतिक नियोग र अस्पतालहरुले गर्ने आयातमा तथा वाणिज्य बैंकहरुले सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ बमोजिम आयात गर्ने सुनको हकमा यो व्यवस्था लागू हने छैन। उद्योगहरुले आफ्नै प्रयोजनका लागि उद्योग स्वयम्ले आयात गर्ने कच्चा पदार्थको हकमा यो व्यवस्था लागू हुने छैन। औषधिजन्य प्रयोजनका लागि हुने आयातको हकमा यो व्यवस्था लागू हुने छैन । यस सम्बन्धमा आयातकर्ताबाट सोको स्वःघोषणा अनिवार्य रुपमा लिनु पर्नेछ।
हार्मोनिक कोड ८७०३ र ८७११ भएका वस्तुको हकमा शत् प्रतिशत विद्युतीय भए यो व्यवस्था लागू हुने छैन । हार्मोनिक कोड ९४०३।२०।१० र ९४०३।७०।१० का भएका वस्तुको हकमा यो व्यवस्था लागू हुने छैन।