सेयर लगानीकर्ताका गोप्य तथ्यांक बिक्री वितरण भइरहेको खुलासा

arthabeat २०७८-११-१५ ०९:५६:०० बजे

कामाण्डौ।ब्रोकर कम्पनीमार्फत लगानीकर्ताका सेयर खरिदबिक्रीसम्बन्धी लगायतका गोप्य तथ्यांक बिक्री वितरण भइरहेको तथ्य खुलासा भएको छ । 

धितोपत्रको दोस्रो बजारमा ब्रोकर कम्पनीबाट लगानीकर्ताहरुका सेयर खरिदबिक्रीसम्बन्धी अत्यन्तै गोप्य तथ्य तथा तथ्यांकहरु बाहिरिँदै गएको खुलासा भएको हो ।

नेप्सेस्थित उच्च स्रोतका अनुसार स्टक ब्रोकर कम्पनीहरुको मुख्य एडमिनबाट बनाइएको नेप्से अनलाइन ट्रेडिङ्ग सिस्टमको इन्टर्नल युजर(आन्तरिक प्रयोगकर्ता)मार्फत अति नै व्यक्तिगत तथा गोपनीय तथ्यांकहरु खुलेआम बिक्री वितरण भइरहेको छ । बजारमा ठूलो परिमाणमा सेयर खरिदबिक्री गर्ने व्यक्ति तथा इन्भेष्टमेन्टमेन्ट कम्पनीहरु,बजारका चिरपरिचित लगानीकर्ताका सेयर खरिदबिक्री विवरण लगायतका विवरण तथा तथ्यांकहरुहरुलाई ब्रोकर कम्पनीमा कार्यरत कर्मचारी( इन्टर्नल युजर)ले गोप्य तथ्यांक अन्य व्यक्तिलाई निश्चित शुल्क लिई बिक्री वितरण भइरहेको बताइएको छ ।

धितोपत्रको दोस्रो बजारमा ब्रोकर कम्पनीबाट प्राप्त सेयर खरिदबिक्री सम्बन्धी गोप्य विवरण बजारमा चलखेल गर्ने समूहले थोरै रकम सम्बन्धित ब्रोकर कम्पनीमा कार्यरत कर्मचारीलाई दिएर तथ्यांक एकमुष्ट गर्ने गलत अभ्यास बढिरहेको स्रोत दाबी गर्दछ । यस्तै सूचना बेचेर नै सम्बन्धित ब्रोकर कम्पनीमा कार्यरत कर्मचारीहरुको रहनसहन र जीवनशैलीमा नै आमूल परिवर्तन भेटिनुको अर्को रहस्य तथ्यांक चोरीलाई मानिएको स्रोत जिकिर गर्दछ ।

सेयर बजार सूचनामा आधारित हुन्छ । सूचना र तथ्यांक एकमुष्ट गरी बजारमा चलखेल गर्ने गिरोह पछिल्लो समय निकै मौलाउँदै गइरहेको बताइएको छ । यस विषयमा नेपाल स्टक एक्सचेञ्जलाई पूर्ण जानकारी भने नभएको होइन । एक्सचेञ्जले बठ्याईँपूर्वक ब्रोकरको इन्टर्नल युजरलाई तथ्यांकमा के कति पहँुच राख्न दिने सिस्टम भने हरेक ब्रोकर कम्पनीको एडमिन युजर(नेप्सेले ब्रोकर कम्पनीलाई दिएको मुख्य एडमिन)लाई नै पूर्ण अधिकार दिइएको छ ।

सेयर खरिदबिक्री सम्बन्धी गोप्य तथ्यांक बाहिरिन थालेको थाहा पाए पछि भने २÷४ वटा ब्रोकर कम्पनीले इन्टर्नल युजरलाई सेयर खरिदबिक्री गर्न मात्र पाउने तर तथ्यांकभित्र प्रवेश गर्ने पहुँचबाट भने बन्देज लगाइसकेको स्रोतको दाबीसमेत छ ।

नेप्सेले हाल ५० ब्रोकर कम्पनीलाई नेप्से अनलाइन ट्रेडिङ्ग सिस्टममा ५० वटा एडमिन युजर वितरण गरेको छ । इन्टर्नल युजर भने हरेक ब्रोकर कम्पनीले आवश्यकताअनुसार बनाउने व्यवस्था रहेको छ । यसअघि नेप्सेले ब्रोकर कम्पनीलाई निश्चित इन्टर्नल युजर दिइने प्रचलन थियो ।

 

 

 

 

 

 

 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।