काठमाण्डौ। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले धरानका सामुदायिक विद्यालयमा अध्ययनरत विद्याथीहरुलाई निःशुल्क भिटामिन डी लगाउन वित्तीय सहयोग प्रदान गरेको छ ।
बैंकको वित्तीय सहयोगमा धरानको सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क भिटामिन डी लगाउने कार्यक्रम आजदेखि सुरु भएको हो ।
मितेरी डेभलपमेन्ट बैंकको वित्तीय सहयोग र रोटरी क्लब अफ धरान घोपाको आयोजना तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागको सहकार्यमा भिटामिन डि लगाउन शुरु गरिएको बताइएको छ।
आज पहिलो दिन बिहीबार धरान २ स्थित शिक्षा निकेतन माविका विद्यार्थीहरुलाई इन्जेक्सनमार्फत भिटामिन डी दिइएको छ । धरानका ४९ वटा सामुदायिक विद्यालयका इच्छुक विद्यार्थीहरुलाई निःशुल्क रुपमा भिटामिन डी दिइने आयोजक रोटरी क्लब अफ धरान, घोपाका अध्यक्ष र मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीले जानकारी दिए ।
धरानका सामुदायिक विद्यालयहरुमा कुल १२ हजार हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् । तीमध्ये इच्छुक विद्यार्थीहरु सबैलाई भिटामिन डी दिइने र सोही अनुसार क्लबले तयारी गरेको पनि मितेरी डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत वस्तीले जानकारी दिए । चार महिनाभित्रमा धरानका सबै सामुदायिक विद्यालयहरुमा लगाइसक्ने उनले बताए । निजी विद्यालयहरुले पनि आवश्यकता ठानेमा कार्यक्रम गरिने अध्यक्ष वस्तीले बताए ।

वीपी प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुख प्रा.डा.बिक्रम श्रेष्ठका अनुसार नेपाल र भारतको सर्वेक्षणमा ९० प्रतिशतमा भिटामिन डी कमी देखिएकोले यो कार्यक्रम गरिएको जिकिर गरे । भिटामिन डी बिना स्वास्थ्य राम्रो नहुने उनले दाबीसमेत गरे । हाडजोर्नीको रोग, मुटु र क्यान्सरबाट जोगिन पनि भिटामिन डी आवश्यक पर्ने उनले बताए ।