पर्यटन हब पोखरामा बिदेशीभन्दा आन्तरिक पर्यटकले भरिभराउ,व्यवसायीहरुमा आशाको सञ्चार

शिरिस ढकाल २०७८-१२-२० ०३:२२:०० बजे

पोखरा।कोभिड १९ ले थलिएका पोखराका होटल व्यवसायहरु विस्तारै पुनः लय मा फर्किन थालेका छन्। पहिले आन्तरिक पर्यटकभन्दा बाह्य पर्यटक को चहलपहल निकै हुने गरेको यस ठाउँमा अहिले भने तुलनात्मक रूपमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति बढ्दै गइरहेको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको प्रभाव सबैभन्दा बढी आर्थिक क्षेत्रमा पर्यो। जसमध्ये पर्यटन क्षेत्र त तहसनहस नै हुने स्थिति पैदा भयो । कोभिडसँगै पर्यटन हबका रुपमा परिचित पोखराको पर्यटन व्यवसाय पनि सुस्तायो। बाह्य पर्यटकको आगमन त लगभग ठप्प नै भयो।

पर्यटकको आगमन सुस्ताउन थालेसँगै पोखराको होटल व्यवसाय हरु पनि सुस्ताउनु स्वभाविक नै थियो। कोभिडले थलिएका यहाँका होटल व्यवसायहरु भने कोभिड पछि आन्तरिक तथा भारतीय पर्यटकको आगमनसँग पुनः जुर्मुरुवान थालेका छन् । 

कोभिड पछि पर्यटकको आगमन दिन प्रतिदिन बढ्दै गइरहेको छ। कोभिड अघि पोखरामा आन्तरिक पर्यटकभन्दा बढी बाह्य पर्यटकको चाप हुने गर्थ्यो। विभिन्न प्राकृतिक मनोरम दृश्यहरू अवलोकन गर्न आउने तथा साहसिक गतिविधि गर्न आउने विदेशी पर्यटकको बाक्लो उपस्थिति हुने गरेको थियो। पोखरा का होटल व्यवसायहरु पनि विदेशी पर्यटकले खचाखच भरिने गरेका थिए। 

तर, कोभिड पछि पर्यटकको फ्लोमा ठ्याक्कै परिवर्तन देखिएको छ ।  तुलनात्मक रूपमा आन्तरिकभन्दा बाह्य पर्यटकको संख्या बढी हुने यस ठाउँमा कोभिड पछि  भने आन्तरिक पर्यटकको आगमन उल्लेखनीय रुपमा बढेको होटल व्यवसायीहरु बताउँछन् । 

पोखरा लेकसाईड, स्ट्रिट न ४६ मा अवस्थित विनायक होटलका सञ्चालक सनम बानियाँले भने,“कोभिड अगाडि व्यवसाय राम्रै चलिरहेको थियो। आन्तरिक भन्दापनि बाह्य पर्यटक को चाप बढी हुने गरेको थियो। कोरोनाले होटल व्यवसाय थला बनाइदियो र कोभिडपछि आन्तरिक र भारतीय पर्यटकको आगमनले भने व्यवसाय चलायमान बनाएको छ।”आन्तरिक पर्यटकको सहभागिता बढ्दो भएतापनि पर्यटकको अपेक्षित रूपमा वृद्धि हुन नसकेको कुरा उनले अर्थविटसँग भने । 

पहिले होटलमा  बिदेश पाहुना मात्र हुन्थे, तर अहिले नेपाली र भारतीय पाहुनाले होटल धानिरहेको पोखरा लेकसाईड, स्ट्रिट न १२ स्थित माई होटल का सञ्चालक 

थलक प्रसाद  तिवारीले दाबी गरे । उनका अनुसार बिदेशी पाहुनाकाबुकिङहरु भने हुन सुस्तरी थालेको छ। अब बिस्तारै बिदेशी पर्यटकहरुको पनि आगमन बढ्ने र होटल व्यवसायले फेरि पिकअप लिने कुरा उनको ठम्याइ छ । 

यसैगरी पोखरा लेकसाईडस्थित वरपिपल रिसोर्टका सञ्चालक जितु गुरुङ्गका अनुसार अहिले आन्तरिक र भारतीय पर्यटकको संख्या राम्रो वृद्धि भइरहेको र यही अनुपात मा बढ्दै गएमा अब को लगभग २ वर्षमा व्यवसायहरु पनि पहिलेकै अवस्था मा फर्किने जिकिर गर्छन् । 

यता पोखरा कुरी रिसोर्ट का म्यानेजर रमेश घिमिरेले  कोभिडपछि  होटल व्यवसायले राम्रो गति लिँदै गरेको बताए । कोभिडमा थलिएका व्यवसायहरु  यही अनुरूपको परिस्थिति बन्दै गएमा  छिट्टै लय मा फर्किने उनको बुझाइ छ । बाह्य पर्यटकको कमी हुनुमा भने कोभिडको डर रहेको उनको ठहर छ । कोभिड प्रटोकलकै  कारण ले पनि बाह्य पर्यटक को आगमनमा असहज भएको उनी बताउँछन्। “कतिपय मुलुकहरू अझै पनि खुलेको छैनन्, फ्लाईट सहज नहुनाले पनि कतिपय पर्यटक आउन पाएका छैनन्,”उनले अर्थबिटसँग भने ,“नियमनकारी निकायको कमजोरीले  पनि यस्तो परिस्थति निर्माण भइरहेको र यसका लागि सरकारी निकाय बाट नै पहल हुनुपर्ने कुरा उनले जिकिरसमेत गरे।

पोखरा न्यूरोडमा अवस्थित  होटल दिप सागर रेस्टुरेन्ट एण्ड बार का सञ्चालक के. पी.शर्माका अनुसार पछिल्लो समय विदेशी पर्यटकहरु एकदम न्यून देखिएका छन्। भारतीय पर्यटकको पनि जति संख्या मा उपस्थिति हुनुपर्ने हो त्यति संख्या मा नभएको उनको गुनासो छ। कोभिडको डरकै कारण कतिपय मुलुकहरुमा अझै पनि खुकुलो नहुनु, रसिया – यूक्रेन तनाव जस्ता कुरा ले पनि बाह्य पर्यटकको आगमन अपेक्षित रूपमा वृद्धि हुन नसकेको उनले सुनाए । डेढ वर्षसम्म वित्तीय संकटसमेत सामना गर्दै होटल व्यवसाय जसोतसो धानिरहेको उनले सुनाए । 

अहिले भने आन्तरिक पर्यटकहरूको  चाप बढ्नमा एनजीओ, आईएनजीओ, राष्ट्रिय स्तरका संघसंस्था तथा महासंघहरुको रोकिएको कार्यक्रमहरु आयोजना भइरहेकाले पनि केही राहत भएको उनी सुनाउँछन् । कोभिडले पर्यटन व्यवसायलाई नै धराशयी बनाएकाले सरकारले सम्बन्धित पीडितलाई राहतका प्याकेज ल्याउनुपर्ने उनको जोड छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।