धरान । बचतकर्ताको रकम भुक्तान गर्न नसकेपछि सुनसरीको धरानमा अवस्थित बराह बचत तथा ऋण सहकारीले हात उठाएको छ ।
धरानमा हिजो आयोजित पत्रकार सम्मेलनमा बराह बचत तथा ऋण सहकारी संस्थाको मुख्य कम्पनी बराह ग्रूप अफ इण्डष्ट्रीका अध्यक्ष शिव लामिछानेले समेत बचतकर्ताहरुको रकम भुक्तानी फिर्ता नसकिने अब भगवानकै शरणमा रहेको बताएका हुन् । यसको मतलब सहकारीले पैसाको जोहो अझै गर्न सकेको छैन । यद्यपि सहकारीले गत चैत २२ गते सेयरसदस्य र बचतकर्तालाई भुक्तान गर्ने प्रतिवद्धतामा चुकेपछि भाका सारेर २०७९ साल बैशाख १५ गते आवश्यकता र वर्गीकरणका आधारमा निक्षेपकर्ताहरुको स–साना रकम भुक्तान गर्ने दाबीसमेत गरेको छ ।
सरकारले नै तरलता अभाव चर्किएपछि अत्यावश्यक वस्तुहरु बाहेक आयात ठप्प पारेको अवस्था छ । चौतर्फी नगद अभाव चर्किएसँगै देश नै आर्थिक संकटसँग जुधिरहेका बेला सहकारीले आगामी बैशाखमा पनि भुक्तानी प्रक्रियालाई सुचारु गर्ने प्रतिवद्धता असफल हुने जानकारहरु बताउँछन् । तरलताको अभाव अझै केही समय थप चर्किदै जाने देखिन्छ ।
यसैबीच बराह सहकारी संस्थाका अध्यक्ष मान बहादुर बिश्वकर्माले नै सदस्य तथा बचतकर्तामाझ झूटमाथि झूट बोल्दै सेयरसदस्य तथा बचतकर्तामाझ तोकिएको समयमा नगद भुक्तानी नगरेर संस्था टाँट पल्टिएको प्रमाणित गरेका छन् ।
सहकारीले नगद कारोबारका दौरान ऋण प्रवाह गर्नैपर्छ भन्ने बाध्यता रहँदैन तर बचतकर्ताहरुले जम्मा गरेको बचत रकम भने जुनसुकै समयमा भुक्तान गर्नुपर्ने हुन्छ । यद्यपि बराह सहकारीले सर्वसाधारण बचतकर्ताको रकम फिर्ता गर्न सकिरहेको छैन । बराह सहकारीमा पहुँच पुगेका सर्वसाधारणले भने बचत रकम गोप्य रुपमा भुक्तान पाइरहेका छन् ।
हिजो बिहीबार सहकारीले पत्रकार सम्मेलनमार्फत सहकारीको यथार्थ अवस्था र सञ्चालन योजनाका विषयमा भन्दा पनि नेपालको अर्थतन्त्र र विश्व अर्थतन्त्रको व्याख्यात्मक विश्लेषण अनि भावाान्तमक कुराहरु राखेको थियो । उक्त कार्यक्रममा बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्वकर्माले वित्तीय असन्तुलन र तरलताको प्रभावले असहता सिर्जना भइरहेको दाबी गरे । उनका अनुसार बराह सहकारीमा निक्षेप ७२ करोड रुपैयाँ र ऋण प्रवाह भने ७९ करोड रुपैयाँ रहेको दाबी गरे । उनले अन्य व्यवसायिक प्रतिष्ठानहरुलाई ऋण प्रवाह गरेको बताए । अन्धाधुन्ध रुपमा बचतभन्दा ऋण प्रवाहले समेत थलिएको उनले दिएको तथ्यांकबाट प्रष्टिन्छ । अब ऋण असुली प्रक्रियालाई थप सशक्त बनाएर बचतकर्ताको रकम फिर्ता दिइने उनले जिकिर गरे ।
गत चैत १ गते बराह सहकारीका अध्यक्ष मान बहादुर विश्वकर्माले संस्थाको लेटरप्याडमा सेयर सदस्य तथा बचतकर्ताको रकम भुक्तानी गर्ने प्रतिवद्धता(सही छापसमेत) गरेक थिए । विश्वकर्माद्वारा हस्ताक्षरित प्रतिवद्धतामा सदस्य तथा बचतकर्ताहरुको भुक्तानी रोकिरहेकोमा गत चैत २२ गतेदेखि नगद भुक्तानी सेवा सञ्चालन हुने प्रतिवद्धता गरिएको थियो र सोही प्रतिवद्धतामुताविक नगद भुक्तानी हुन नसकेमा सञ्चालक समितिले आफ्नो व्यक्तिगत जायजेथाबाट भुक्तानी गरिदिने जानकारी दिइएकोमा आजसम्म पनि भुक्तानी भएको छैन ।
.jpg)
गत चैत २२ गते धरानमा बराह सहकारीमा बचतकर्ताहरुले घेराउसमेत गरेका थिए ।
हाल सहकारी संस्थाहरु स्थानीय निकायले समेत अनुगमन गर्दैै आइरहेका छन् । अनौठो घटना के छ भने भुक्तानी नपाएर बेचैन बनेका बचतकर्ताहरुले समेत धरान उपमहानगरपालिका कार्यालय, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय कतैपनि उजुरी हालेका छैनन् ।