विश्व बैंक र युएसएआइडीबाट एक खर्ब सहयोग प्राप्त हुने

RSS २०७९-०१-०२ १३:१४:०० बजे

काठमाण्डौ।वैदेशिक मुद्राको सञ्चितिमा दबाब परेका बेला एकैपटक करिब रु एक खर्ब बराबरको अन्तर्राष्ट्रिय सहायता प्राप्त हुने भएको छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रु १८ अर्ब सहुलियतपूर्ण ऋण र संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसएआइडी) बाट रु ७९ अर्ब ७१ करोड अनुदान सहायता प्राप्त हुन लागेको हो ।

मन्त्रिपरिषद्को गत चैत ३० गते बसेको बैठकले उक्त सहयोग  स्वीकार गर्ने निर्णय भएसँगै मुलुकको अर्थतन्त्रमा केही सहज हुने भएको छ । बैठकको निणर्यबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा प्राप्तिका निम्ति  पहल गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी महानिरीक्षकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा गर्ने, मायादेवी गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्ने र उक्त गाउँपालिकाको प्रशासकीय भवन निर्माणलगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।” 

बैठकले सिरहास्थित कर्जन्हा नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने र राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने गर्ने निर्णय गरेको पनि बताइको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।