राजश्व अनुसन्धान विभागद्वारा मुद्दा दायर,रु १८ करोड बढी राजस्व छली गरेको आरोप

RSS २०७९-०१-१२ ०८:१८:०० बजे

काठमाण्डौ।राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीमार्फत नक्कली बीजक तयार पारी रु १८ करोड बढी राजस्व छली गरेको आरोपमा ती कम्पनीका सञ्चालक तथा साझेदारविरुद्ध मुद्दा चलाएको छ ।

विभागले काठमाडौँ महानगरपालिका १३ बाफल बस्ने शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर तथा गणपति ट्रेड लिङ्क, एचवी ट्रेड एण्ड सम्लायर्स र एमके इन्टरनेशनलसमेतका मुख्य कारोबारी मनिषकुमार अग्रवाल, सोही ठाउँ बस्ने एचवि ट्रेड एण्ड सप्लायर्सका साझेदार तथा गणपति ट्रेड लिङ्का खाता सञ्चालक र एमके इन्टरनेशनलको कारोबारमा संलग्न हितेषकुमार अग्रवालविरुद्ध मुद्दा दायर गरेको हो ।

यस्तै एमके इन्टरनेशनलका प्रोपराइटर प्रमित महर्जन, एचवी ट्रेड एण्ड सप्लायर्सका साझेदार विमल अग्रवाल र सोही ठाउँ बस्ने गणपति ट्रेड लिङ्कका प्रोपराइटर दीपेन्द्रकुमार अग्रवालविरुद्ध पनि आइतबार मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

शुभलक्ष्मी इन्टरनेशनलसमेतका कम्पनीले राजस्व चुहावट गर्ने मनसायस्वरुप नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि करको विजक किनेर वित्तीय विवरण तथा आय विवरण तयार पारी आयकर ऐन, मुल्य अभिवृद्धि कर ऐन तथा नियम बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको गरेको फेला परेको विभागले एक सूचना जारी गरी जनाएको छ ।  उनीहरुले राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संसोधनसहित)को दफा ३ ले निषेधित गरेको र सोही ऐनको दफा ४(क), (च) र (झ) बमोजिमको कसुर गरेको विभागले दावी गरेको छ । 

अनुसन्धान गर्दा रु १८ करोड ५ लाख ६८ हजार विगो बराबरको राजस्व छली गरेको पाइएको उल्लेख गर्दै विभागले विगो असुल गरी शत प्रतिशत जरिवाना तथा कैद सजायको मागदावी गरेको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।