पोखरा।कोभिड माहामारीका कारण २ वर्षदेखि बन्द रहेका ब्रोकर हाउसका डिस्प्ले धितोपत्र बोर्डको निर्णयपछि पुनः खुले पनि तर लगानीकर्ताको उपस्थिति भने निकै नगन्य रूपमा मात्र रहेको छ।
धितोपत्र बोर्डले गत चैत्र २८ गते ब्रोकर हाउसका डिस्प्ले पुनः सूचारु गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुरुप पोखराका ब्रोकर कार्यालयहरुले झण्डै १ हप्ता देखि डिस्प्ले खुला गरिहरेका छन्। डिस्प्ले पुनः सूचारु भएतापनि ब्रोकर हाउसमा पहिलेको जस्तो रौनकता देखिएको छैन।

“कोभिड अगाडि ब्रोकर हाउसको माहोल छुट्टै किसिमको हुने गर्थ्यो। विभिन्न लगानीकर्ताहरु यहाँ आई बजार बारे छलफल सँगै ठट्टा मजाक पनि गर्थे।”पोखरास्थित एक ब्रोकर कार्यालयका कर्मचारीले भने। अहिले कार्यालय सुनसान प्रायः नै रहेको कुरा उनले अर्थबिटसँग भने। बेला बेला मा ट्रेडिङ्ग अकाउन्ट तथा अनलाइन कारोबार लगइन(टीएमएस) लिन भने मानिसहरु आइरहेको कुरा उनले सुनाए ।
कतिपय ब्रोकर कम्पनीले लगानीकर्ता नआएपछि खोलिएको डिस्प्ले पनि फेरि बन्द गर्नुपरेको गुनासो गरे। “लगानीकर्ताका लागि भनेर डिस्प्ले सुचारु गर्यौँ तर उनीहरू नै आउँदैनन् ।” न्यूरोडस्थित कुमारी सेक्युरिटिजका सञ्चालक दीपकराज सिग्देलले भने।
उसो त अनलाइन कारोबार प्रणालीको सुविधा, घट्दो सेयरबजार तथा भर्खर खुलेको डिस्प्लेका कारणले लगानीकर्ता नआएको कुरा ब्रोकर हाउसका सञ्चालकहरु दाबी गर्छन्। “अहिले अनलाइनको जमाना छ , घरमै सबै कुरा हेर्न पाइन्छ,त्यसैले पनि लगानीकर्ताहरु आएका छैनन्।” न्यूरोडस्थित कोहिनुर सेक्युरिटिजका सञ्चालक खेमराज रानाभाट ले अर्थबिटसँग भने।
बजार राम्रो अंकले बढेमा फेरि उत्साह आउने र लगानीकर्ताको उपस्थिति बढ्ने ब्रोकरहरुको आँकलन छ ।