गभर्नरको मुद्दा ‘हेर्दाहेर्दै’मा, बिहीबार सुनुवाइ हुने

RSS २०७९-०१-१४ ०९:४०:०० बजे

काठमाण्डौ।सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’ रहेको छ ।  अर्को सुनुवाइ बिहीबारका लागि राखिएको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

गर्भनर अधिकारीले बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख गर्दैै उक्त निर्णय खारेज गर्न आदेश माग गर्दै अधिकारीले वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि, न्यायाधीश हरिप्रसाद फुयाँलको यही वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेशलाई निरन्तता दिने वा नदिने भन्ने विषयमा आजका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

मन्त्रिपरिषद्को गत चैत २५ गते बसेको बैठकले गर्भनर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो । जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वतः निलम्बनमा पर्नुभएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।