काठमाण्डौ।मितेरी डेभलपमेन्ट बैंकसहित थप ४ वटा वित्तीय संस्थाहरु आरटीजीएस प्रणालीमा आवद्द भएका छन् ।
आज जेठ ४ गतेदेखि १ विकास बैंक र ३ फाइनान्स कम्पनी गरी कुल ४ कम्पनी डाइरेक्ट पार्टिसिपेन्टको रुपमा आरटीजीएस प्रणालीमा आवद्द भएको राष्ट्र बैंकले जनाएको छ ।
डाइरेक्ट पार्टिसिपेन्टको रुपमा आरटीजीएस प्रणालीमा आवद्द हुनेमा मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र समृद्धि फाइनान्स कम्पनी रहेका छन् ।
यससँगै अब निम्न बैंकका सेवाग्राहीहरुले ठूलो परिमाणमा पैसा निकाल्दा चेक काटेर बैंक पुग्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् ।
के हो त आरटीजीएस प्रणाली ?
ठूलो परिमाणमा पैसा निकाल्दा हुने परम्परागत झन्झटिलो प्रक्रियाको अन्त्यका लागि कार्यान्वयनमा आएको आरटीजीएस एउटा आधुनिक भुक्तानी प्रणाली हो । ठूलो रकम निकाल्न वा स्थानन्तरण गर्नु पर्दा आरटीजीएस प्रणालीको प्रयोग गरे बैंकमा धाएर चेक काटिरहन पर्दैन । अन्य अनलाइन भुक्तानी प्रणालीभन्दा छिटो रकम स्थानान्तरण गर्न वित्तिकै यो प्रणालीमा पैसा सेवाग्राहीको खातामा जम्मा हुन्छ ।
दुई लाख रुपैयाँभन्दा धेरै रकमको कारोबारका लागि यो प्रणाली उपयुक्त छ । यो प्रणालीमा सरिक हुने सेवाग्राहीले बैंकमा गएर एउटा फारम भर्नुपर्नेछ । यो प्रणालीको प्रयोग गर्दा शुल्क पनि धेरै नलाग्ने हुँदा यसले पैसा र समय दुवैको बचत गरिदिन्छ ।