बढ्यो वाणिज्य बैंकको निक्षेप, सिडी रेसियो पनि घट्दै

अर्थबिट २०७९-०३-२८ ०९:१३:०० बजे

काठमाण्डौ।तरलताको अभाव रहेको भनिएका बैंक तथा वित्तीय संस्थामा पछिल्ला दिनमा उल्लेख्य सुधार देखिएको छ । वाणिज्य बैंकको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव पनि सकारात्मक परेको छ ।  गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैंककोे निक्षेप सङ्कलन रु ९४ अर्बले बढेको पाइएको छ ।

नेपाल बैंकर्स सङ्घका अनुसार गत जेठ महिनामा वाणिज्य बैंककोे कूल निक्षेप रु ४४ खर्ब रहेकामा असार २४ गतेसम्म रु ४४ खर्ब ९४ अर्ब पुगेको हो । पछिल्लो समय निरन्तररुपमा घटेको निक्षेप असार महिना लागेसँगै केही सुधार देखिएको छ । सङ्घको तथ्याङ्कअनुसार असार पहिलो साता वाणिज्य बैंकको निक्षेप सङ्कलन (३ गते) रु ४३ खर्ब ९४ अर्ब, असार दोस्रोे साता (१० गते) रु ४३ खर्ब ९८ अर्ब र असार तेस्रो साता (१७ गते) रु ४४ खर्ब ३२ अर्ब रहेको थियो ।

असार महिनामा निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ । गत जेठ महिनाकोे तुलनामा असारको २४ गतेसम्म रु १९ अर्बले कर्जा लगानी घटेको हो । गत जेठ मसान्तसम्म कूल रु ४१ खर्ब ९३ अर्ब कर्जा लगानी गरेका बैंकले असार चौथो सातासम्म कूल रु ४१ खर्ब ७४ अर्बमात्रै कर्जा लगानी गरेका हुन् ।

यस्तै, एक सातामा वाणिज्य बैंककोे कर्जामा रु दश अर्ब गिरावट देखिएको छ । असार १७ गतेसम्म रु ४१ खर्ब ८४ अर्ब कर्जा लगानी रहेकोमा असार २४ गतेसम्म रु ४१ खर्ब ७४ अर्ब पुगेको हो । यस्तै, वाणिज्य बैंककोे कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) पनि घट्दै गइरहेको छ । असार २४ गतेसम्म वाणिज्य बैंककोे औसत सीडी रेसियो ८८.५७ प्रतिशत पुगेको हो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।