काठमाण्डौ।नेपाली अटोमोवाइल व्यवसायीहरुको छाता संगठन ‘नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल’को आयोजनामा नेपालमा नै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टु –ह्विलर ‘नाडा इभि चौतारी’ यही आश्विन ६ गते देखि ९ गते सम्म भृकुटी मण्डप, प्रदशनी हलमा आयोजना हुन गइरहेको छ ।
उक्त ‘नाडा इभि चौतारी’ चलिरहेको समयमा नै आश्विन ७ गते देखि ९ गते सम्म प्रत्येक दिन दिउँसो २ बजे देखि ४ बजे सम्म युएस एडको सहकार्यमा नाडा चौतारी सेमिनार पनि सञ्चालन हुने भएको छ । तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने छ । इभि चौतारीको पहिलो दिन २०७९/०६/०७ गते इभि टेक्नोलोजी र इकोसिस्टमका बारेमा छलफल हुनेछ भने दोस्रो दिन २०७९/०६/०८ गते फाइनान्सियल एस्पेक्ट्स अफ इभिको बारेमा विभिन्न विज्ञहरु ले आ–आफ्नो धारणा राख्नेछन् र अन्तिम दिन २०७९/०६/०९ गते पोलिसिस फर प्रमोटिङ्ग भन्ने विषयमा छलफल हुने छ ।
यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरु देखि लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरि ज्ञान बाड्ने चौतारी हुनेछ । कार्यक्रममा उपस्थितिको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सबैलाई सहभागिताको लागि आग्रहसमेत गरेको छ ।