सानिमा र नबिलको म्युचुअल फण्ड बिक्री गर्ने योजनामाथि तुषारापात!, किन घट्दैछ आकर्षण ?

अर्थबिट २०७९-०७-२७ ०६:३१:०० बजे

काठमाण्डौ।मर्चेण्ट बैंकहरुले प्राथमिक निष्काशन गरेका म्युचुअल फण्डका योजनाहरुको बिक्रीमा तुषारापात परेको छ । 

मर्चेण्ट बैंकहरु क्रमशः सानिमा क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गद्वारा सञ्चालनमा आउन लागेका अर्थात हाल प्राथमिक निष्काशन गरिरहेका म्युचुअल फण्डहरुको योजनाहरु क्रमशः सानिमा ग्रोथ फण्ड र नबिल फ्लेक्सी क्याप फण्डको बिक्रीमा नै तुषारापात परेको हो ।

गत कात्तिक १६ गतेदेखि सानिमा क्यापिटलले सानिमा ग्रोथ फण्ड नामक बन्दमुखी योजनाको निष्काशन गरेको छ जसमा आउँदो बुधबारसम्म अन्तिम आवेदन दिने म्याद रहेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आइतबार ४ बजेसम्म सानिमा ग्रोथ फण्डमा ३६ हजार १२६ आवेदकबाट ४१ करोड ९९ लाख ५२ हजार १०० रुपैयाँ बराबरको मात्रै आवेदन परेको छ । सानिमा ग्रोथ फण्डले प्रति इकाई रु.१० का दरले १ अर्ब २० करोड रुपैयाँ प्राथमिक निष्काशनमार्फत् संकलन गर्ने योजना रहेको छ । १२ दिन बित्दासमेत फण्डले कुल योजना रकमको आधा पनि उठाउन नसकेको देखिन्छ । 

यता नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले समेत गत कात्तिक २३ गतेदेखि नबिल फ्लेक्सी क्याप फण्ड नामक खुलामुखी योजनाको निष्काशन गरेको जसमा आगामी मंसिर ८ गतेसम्म आवेदन दिने म्याद तोकिएको छ । सिडिएससीका अनुसार इकाई बिक्री बन्द हुने मिति (छिटोमा) आज आइतबार ४ बजेसम्म २१ ह्जार ६०४ आवेदकबाट १२ करोड २ लाख ६१ हजार ९०० रुपैयाँ बराबरको आवेदन मात्रै परेको छ । नबिल फ्लेक्सी क्यापले प्रति इकाई रु.१० का दरले ७५ करोड रुपैयाँ प्राथमिक निष्काशनमार्फत् संकलन गर्ने योजना रहेको छ । योजनाको छिटोमा बिक्री गर्ने म्यादमा समेत कुल निष्काशन रकमको अझैं ८४ प्रतिशत रकम उठाउन बाँकी रहेको देखिन्छ ।

केही समयअघि प्राथमिक निष्काशन गर्ने म्युचुअल फण्डका विभिन्न योजनाहरु ४ दिनको म्यादमै सब्सक्राइब हुन्थ्यो तर पछिल्लो समय म्युचुअल फण्डहरुले दोस्रो बजारमा नराम्रो प्रदर्शन गरेसँग शेयर लगानीकर्ताहरुको आकर्षण खिच्न र जित्न सकेका छैनन् । उसो त म्युचुअल फण्डले शेयर बजारमा विज्ञता,आरक्षण,कर छुट लगायतका विविध सुविधा उपभोग गरेपनि अंकित मूल्य रु.१० भन्दा तल नेट एसेट्स भ्यालू(न्याभ) रहेका छन् । दोस्रो बजारमा नै आधा जसो म्युचुअल फण्डको इकाईमूल्य रु.७ हाराहारी भएकाले पनि लगानीकर्ताहरुले आवेदनमा चासो नदेखाएको विश्लेषकहरुको दाबी छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।