नेपालमा इन्साइडर ट्रेडिङः किन हुँदैन दोषीलाइ कारवाही?

पिताम्बर गौतम २०७९-०८-२९ १७:०३:०० बजे

काठमाण्डौ।नेपाली शेयर बजारमा पुनः एकपटक भि‍त्री कारोबार(इन्साइडर ट्रेडिङ)को चर्चा शिखरमा छ । 

शिवम् सिमेन्ट्सका सञ्चालक समितिका अध्यक्षले नै ठूलो मात्रामा सो कम्पनीको शेयर बेचेको जानकारी बाहिरिएपछि भित्री कारोबार भएको आशंका व्यक्त गर्दै नेपाली छापाहरुमा समाचारहरु आइरहेका छन । धितोपत्र ऐन २०६३ को दफा ९१ मा कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुका आधारमा आफूले धितोपत्र कारोबार गर्न लगाएमा वा आफुलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनको सिलसिलामा बाहेक अरु कसैलाइ दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ भनी उल्लेख भएको पाइन्छ । यस्तो कारोबार गर्ने व्यक्तिलाइ कारोबार रकम बराबरको जरिवाना या १ वर्ष कैद मध्ये एक सजाय हुने व्यवस्था समेत सो ऐनमा गरिएको छ । 

नेपाली शेयर बजारमा भित्री कारोबारको चर्चा बेलामौकामा चर्को रुपमा उठेपनि हालसम्म कसैलाइ सजाय भएको देखिदैंन । नियामक निकायहरुको कमजोरीका कारण यस्ता गम्भीर अपराधमा संलग्न हुनेहरुले सहजै उन्मुक्ति पाइरहेको देखिन्छ । नियामक निकाय बलिया भएका देशहरुमा यस्ता भित्री कारोबारमा संलग्न भएकाहरु माथि कारवाही भएका थुप्रै उदाहरणहरु भेट्न सकिन्छ । छिमेकी देश भारतमा शेयर बादशाहका नामले परिचित राकेश झुनझुनवाला समेत यस प्रकारको कारोबारको आरोपमा सजायका भागिदार भएका थिए ।

विकसित देशहरुमा इन्साइडर ट्रेडिङलाई कति गम्भीर अपराधका रुपमा लिइन्छ भन्ने कुरा तलको उदाहरणबाट सहजै बुझ्न सकिन्छ । 

भारतको कोलकातामा जन्मेका रजत गुप्ता एउटा राम्रा इन्भेष्टरका रुपमा चिनिन्छन । किशोरावस्थामा पुग्दै गर्दा उनी पूर्णतया अनाथ भइसकेका थिए । त्यसका बाबजुद पनि उनले जीवनमा जे प्राप्त गरे त्यो  वास्तवमा धेरै मानिसका लागि अचम्मलाग्दो छ ।मिड ४० सम्म आइपुग्दा McKinsey जस्तो प्रसिद्ध कम्पनीको सीइओ बनिसकेका उनले संयुक्त राष्ट्रसंघ तथा इकोनोमिक फोरम जस्ता महत्वपूर्ण संस्थाहरुमा समेत महत्वपुर्ण भूमिका निर्वाह गरिसकेका छन । यतिमात्र होइन उनले बिल गेटससँगको साझेदारीमा थुप्रै महत्वपुर्ण आयोजनामा काम गरेका छन । सन् २००८ मै १०० मिलियन डलर सम्पत्तिका मालिक रहेका उनी बिलिनियर हुन चाहन्थे ।McKinsey बाट अवकास पश्चात उनी साइड बिजनेसका रुपमा शेयर ट्रेडिङ गर्न थाले जतिबेला उनी ५ वटा प्रसिद्ध कम्पनीको सञ्चालक बनिसकेका थिए । आफैं सञ्चालक रहेको कम्पनी गोल्डम्यान श्याक्सको शेयरमा वारेन वफेटले लगानी गर्न लागेको भनी कसैले उनलाई दिएको टिपका आधारमा उनले उनका साथी राज राजारत्नमसँगको मिलेमतोमा सो कम्पनीको १ लाख ७५ हजार कित्ता शेयर उठाउँछन र अन्ततः सो कम्पनीको शेयरमूल्य माथि पुग्छ । सो कारोबारबाट रजतले १७ मिलियन डलर तथा राजले १ मिलियन डलर नाफा कमाउँछन । यो कारोबारको जानकारी सेक्युरिटी एक्सचेञ्ज कमिसनलाई भएपछि रजतमाथि भित्री कारोबारको आरोपमा छानविन हुन्छ र उनी दोषी ठहर भई २ वर्षको जेल सजायसमेत हुन्छ । 

यो त एउटा उदाहरण मात्र हो । संसारभर यस्ता थुप्रै उदाहरणहरु छन जसमा इन्साइडर ट्रेडिङमा संलग्नहरुलाई कारवाही भएको छ । नेपालमा पनि आक्लझुक्कल इन्साइडर ट्रेडिङमा संलग्न हरुलाई कारवाहीको माग चर्को रुपमा उठिरहेको भएपनि नियामक निकाय नेपाल धितोपत्र वोर्ड यो या त्यो वहानामा आफ्नो कर्तव्यवाट पन्छिरहेको देखिन्छ । हालै मात्र धितोपत्र बोर्डले ऐन  संसोधन गरी भित्री कारोबारमा फौजदारी अभियोग लाग्ने व्यवस्था गरेका कारण यस्तो कारोबार अहिले नेपाल प्रहरीको अनुसन्धान अन्तर्गत समेत पर्न जाने देखिन्छ । समाचारमा आएजस्तो शिवम् सिमेन्ट्सका सञ्चालकले भित्री कारोबार गरेका हुन् भने यो एउटा गम्भीर आर्थिक अपराध हो । यस्ता आर्थिक अपराध माथि यथोचित छानविन गरी दोषीलाइ कारवाहीको दायरामा ल्याउनु नियामक निकायको दायित्व हो । यस्ता कारोवारको छानविन गरि दोषीलाइ कारवाही दायरामा नल्याउने हो भने साना लगानीकर्ता, जसको सूचनामा कुनै पहुँच हुँदैन, उनीहरु सधैँ भित्री कारोबारको शिकार भइरहनेछन । आफ्नो दायित्व पूरा गरी लगानीकर्ताको सम्पत्ति संरक्षणमा धितोपत्र बोर्ड सचेत हुनु नै समग्र लगानीकर्ता तथा नेपाली शेयर बजारको हित हुने देखिन्छ । 

(लेखक गौतम नेपाल टेलिकममा कार्यरत कर्मचारी हुन्)

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।