चालु खाता घाटा करिब ३८ अर्ब, शोधनान्तर बचतमा

अर्थबिट २०७९-०९-२९ ०२:४०:०० बजे

काठमाण्डौ।चालु आर्थिक वर्ष २०७९ को मङ्सिर मसान्तसम्म चालु खाता घाटा करिब रु ३८ अर्ब पुगेको छ । यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा चालु खाता रु ३७ अर्ब ९१ करोडले घाटामा छ । गत आवको समीक्षा अवधिमा चालु खाता रु दुई खर्ब ९८ अर्ब ५१ करोडले घाटामा  थियो ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५ दशमलव तीन प्रतिशतले कमी आई रू तीन अर्ब ४७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रू ६० करोड ४९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रू चार अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रू सात अर्ब सात करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार गत मङ्सिर मसान्तसम्ममा शोधनान्तर स्थिति रू  ५ अर्ब ८७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ९५ अर्बले घाटामा थियो । गत असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति पाँच महिना अवधिमा छ दशमलव तीन प्रतिशतले बढेर मङ्सिर मसान्तसम्ममा रु १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ । 

गत मङ्सिर मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव नौ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।