बैंकको ब्याजदर एकल अङ्कमा कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

अर्थबिट २०७९-०९-३० ११:०३:०० बजे

काठमाण्डौ।साना तथा मझौला उद्योगीहरूको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको ब्याजदर एकल अङ्कमा कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

महासङ्घको टोलीले शुक्रबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर बैंक तथा वित्तीय क्षेत्रमा उच्च ब्याजदरका कारण व्यवसायी व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न माग गरेको हो । महासङ्घका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण व्यवसायी व्यवसाय छोड्न बाध्य हुनुपरेको भन्दै कर्जा ब्याजदरलाई एक अङ्कमा कायम गर्न सरकार र राष्ट्र बैंक लाग्नुपर्ने बताउनुभयो ।

उहाँले बैंकले बिना धितो प्रदान गर्दै कर्जा रु १५ लाखबाट बढाएर २५ लाख बनाउनुपर्ने, भन्सार दरबन्दीको महँगीका कारण बजार मूल्य बढेकाले भन्सार दरबन्दी घटाउन सुझाव दिनुभयो । महासङ्घले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्ने, केरुङ, खासालगायत चिनियाँ नाकामा नेपाली व्यवसायी सहजरूपमा जान पाउनुपर्ने, दक्ष जनशक्ति उत्पादन गर्न प्रत्येक स्थानीय तहमा तालिम केन्द्रको स्थापना गर्नुपर्ने, साना तथा मझौला उद्योगी व्यवसायीलाई बिना धितो सहुलियत कर्जा सहजरूपमा उपलब्ध गराउन माग गरेको छ ।

अध्यक्ष कार्कीले कर्जा ओभर ड्राफ्टमा भइरहेको झन्झटिलो प्र्रक्रियाको अन्त्य गर्नुपर्ने, कच्चा ऊन आयातमा भइरहेको एकद्वार (सिन्डिकेट) प्रणाली खारेज गर्नुपर्ने, बैंकले घरजग्गा लिलाम गर्दा ३५ दिने सूचना दिएर लिलाम गरेकोमा यसलाई बढाएर छ महिनाको दिनसमेत माग गर्नुभयो । 

महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले साना तथा मझौला व्यवसायीसँग अर्थ मन्त्रालयले समन्वय गर्न माग गर्नुभयो । उहाँले व्यवसायीलाई सहज पहँुच तथा भन्सार नाकामा सहजता ल्याउन र चोरी पैठारीको रोकथाम गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय बजारमा देखिएको तरलता सहज बनाई व्यवसायीमैत्री वातावरण निर्माण गर्न उहाँले सरकारको ध्यानाकर्षण गर्नुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।